५ जेष्ठ २०८१, शनिबार

स्थानीय चुनाव :चहलपहल बढाउँदै राजनीतिक दलहरू



धनगढी । सरकारले स्थानीय निकाएको चुनावी मिति घोषणा गर्ने तयारी गरेपछि विभिन्न राजनीतिक दलहरूले स्थानीय तहमा चहलपहल बढ्न थालेको छ ।
संसद्मा बिहीबार स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने सबै विधेयकहरू पारित भएपछि सरकारले छिट्टै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने सम्भावना बढेको छ ।
स्थानीय निकाय/तह निर्वाचनको लामो समयदेखि चर्चा भएसंगै तथा चुनावको मिति घोषणाका लागि विभिन्न पक्षबाट व्यापक दबाब आइरहेको छ । यससंगै विभिन्न राजनीतिक दलले स्थानीय तहमा चहलपहल बढाउँदै आएका छन् ।
जसका लागि राजनीतिक दलहरूले गाउँगाउँमा आफ्ना कार्यकर्ता भेला, सम्मेलन लगायतका कार्यक्रम गरिरहेका छन् ।
जिल्ला निर्वाचन कार्यालय, कैलालीले माघ १८ गतेभित्र सबै राजनीतिक दललाई आफ्नो विवरण बुझाउन आग्रह गरिएकोमा कैलालीमा सक्रिय विभिन्न २६ वटा राजनीतिक दलहरूले विवरण बुझाएको सूचना अधिकारी प्रेमराज भट्टले जानकारी दिए ।
संविधान सभाको पहिलो हुने निर्वाचनमा जिल्लाबाट ३० राजनीतिक दलले निर्वाचनमा सहभागिता जनाएकोमा हाल २६ वटा दलले मात्र निर्वाचन कार्यालयमा विवरण तथा दल दर्ता गरेको सूचना अधिकारी भट्टले बताए ।
विवरण बुझाउनेमा नेपाली कांग्रस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, नयाँशक्ति नेपाल, लगायतका रहेका छन् । नयाँशक्ति पार्टी नेपाल, तराई, मधेस, पहाड हिमाल एकता पार्टी र युनाइटेड ग्रिन अर्गनाइजेशन पार्टी कैलालीका लागि नयाँ दलका रूपमा दर्ता भएका जिल्ला निर्वाचन कार्यालय कैलालीका शाखा अधिकृत लोकसिंह कार्कीले बताए ।
यता कैलालीमा तीन लाख ९४ हजार ३२ मतदाता रहेकोमा पछिल्लो समय पाँच हजार सात सय ३८ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय कैलालीले जानकारी दिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले पुस ९ देखि माघ १८ गतेसम्म सञ्चालन गरेको घुम्ती शिविरमा ती मतदाता थपिएको सूचना अधिकारी भट्टले बताए ।
यसै गरी जिल्ला प्रशासन कार्यालय कैलाली, इलाका प्रशासन कार्यालय टिकापुर र इलाका प्रशासन कार्यालय सुख्खडमा भने अझैपनि मतदाता नामावली दर्ता गर्ने तथा सच्याउने कार्य जारी रहेको समेत सूचना अधिकारी भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार