३१ बैशाख २०८१, सोमबार

हाकिम छैनन्, सेवाग्राहीले सास्ती भोग्नुपर्ने ?



टीकापुर । कैलालीको टीकापुर इलाका प्रशासन कार्यालयका प्रमुखको सरुवा भएको दश दिन बितिसक्यो । इलाका प्रशासन कार्यालयमा सरुवा भएर आएका नयाँ हाकिम अझैं आइपुगेका छैनन् । इलाका प्रशासन कार्यालयमा एक जना उपसचिव स्तरका प्रमुख रहने व्यवस्था छ । त्यस्तै, एक शाखा अधिकृत, पाँच जना सुब्बा, एक खरिदार र एक कम्प्युटर अपरेटरको दरबन्दी रहेको छ । तर, अहिले टीकापुर इलाका प्रशासन कार्यालयमा न त प्रमुख छन्, न शाखा अधिकृत । सो कार्यालय अहिले तीन जना नायव सुब्बाले सञ्चालन गरिरहेका छन् ।
‘यहाँका दुई जना नायव सुब्बा जिल्ला प्रशासन कार्यालय कैलाली र सुखड इलाका प्रशासन कार्यालयमा काजमा छन्’ नायव सुब्बा नन्दकृष्ण खनालका अनुसार उपसचिव गणेशप्रसाद आचार्य माघ १० गते जिल्ला प्रशासन कार्यालय दाङमा सरुवा भएर गएका छन् । तर, टीकापुर इलाका प्रशासन कार्यालयको प्रमुखका रूपमा बाँकेबाट सरुवा भएर आउनुपर्ने जगत बस्नेत अहिलेसम्म हाजिर भएका छैनन् ।
टीकापुर इलाका प्रशासन कार्यालयमा प्रमुख, शाखा अधिकृत र दरबन्दीअनुसारका नायव सुब्बा नहुँदा सेवाग्राहीले निकै सास्ती भोग्नु परिरहेको सेवाग्राहीहरू बताउँछन् । टीकापुरसंग जोडिएको नारायणपुर गाविसको पर्सेनीका सुस्त श्रवण व्यक्ति देवु लुहारका सहयोगी नीता थापाले भनिन्— ‘एउटै काम गराउन ६ दिन धाउनु पर्‍यो ।’
त्यस्तै, अनुभव लम्कीचुहा नगरपालिका, बचैलाका भीमप्रसाद जोशीको पनि छ । उनी आफ्नी श्रीमती (शारदा) को नागरिकता बनाउन आएका भीमप्रसादले नागरिकता लीनका लागि तीन दिनपछि (माघ २३) गते बोलाएको बताए । ‘अधिकृत आजमात्र भेटिने भएकाले बिग्रेको कागज सच्याएर पनि ल्याए, दुई पटक गरेर ८२ किलोमिटर दौडिसकेको छु’ उनले भने— ‘आज बन्दैन आइतबार आउनु भन्नु भएको छ ।’
कैलालीको पूर्वी क्षेत्रका टीकापुर, लम्की, भजनी नगरपालिका र १० गाविसका नागरिकलाई सेवा प्रवाह गरिरहेको इलाका प्रशासन कार्यालय, टीकापुरमा दैनिक ५० जना नागरिकता बनाउन तथा १० जना भन्दा बढी राहदानी बनाउन आउने गर्दछन् । अरू प्रशासनिक कामका लागि आउनेको त दिनहु घुइचो लाग्ने गर्दछ । इलाका प्रशासन प्रमुख आचार्यको सरुवापछि ठप्प कार्यालयका काममा सहयोग गर्न इलाका प्रशासन कार्यालय सुखडका शाखा अधिकृत शितलसिंह उखेडा आएपछि बुधबारमात्रै उनले दुई सय १७ नागरिकता, १० वटा प्रतिलिपि, १४ पासपोर्ट र दलित, जनजाति प्रमाणित गरेका छन् । साँझ ४ बजेसम्म हस्ताक्षर भएका नागरिकता माघ १२ गतेसम्मका मात्र हुन् । ‘तयार भएका कागजात हेरेर दस्तखत गर्दैछु, कतिको त अनुहार पनि हेर्न भ्याएको छैन’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार