२३ बैशाख २०८१, आईतवार

शहीद दिवस : ‘राष्ट्रले सधैँ स्मरण गरिरहने छ’



धनगढी । जनताको सार्वभौम अधिकारका लागि आफ्नो जीवन उत्सर्ग गर्ने महान् शहीदप्रति श्रद्धा एवं सम्मान अर्पण गर्दै आइतबार मुलुकभरी शहीद दिवस मनाइएको छ ।
जहानिया राणाशासनको अन्त्य गरी जनताको शासनका लागि प्राणोत्सर्ग गर्ने चार जना वीर सपुतहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको शहादतलाई स्मरण गर्दै हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाइने गरेको छ ।
शहीद दिवसका अवसरमा आइतबार धनगढी उपमहानगरपालिका, चटकपुरमा रहेको शहीदद्वारमा निर्मित शहीद दशरथ चन्दको सालिकमा माल्यार्पण गरियो ।
सांसद पुष्करनाथ ओझा, पूर्व सहायक मन्त्री केशरबहादुर चन्द, पूर्व सांसद महेश्वर पाठक, कैलाली सहायक प्रमुख जिल्ला अधिकारी हीरालाल चौधरी, स्थानीय विकास अधिकारी केशवप्रसाद विमली, विभिन्न राजनीतिक दलका प्रतिनिधि, निजामती कर्मचारी, शिक्षक, विद्यार्थी, सुरक्षा अधिकारी, साहित्यकार, व्यावसायी आदिले शहीदप्रति श्रद्धासुमन अर्पण गरेका थिए ।
यसै गरी, सुदूरपश्चिमाञ्चल संस्कृति सम्वद्र्धन समितिले आयोजना गरेको एक कार्यक्रममा सांसद ओझाले शहीदहरूको बलिदानलाई स्मरण गरेमात्र लोकतन्त्र सार्थक हुने चर्चा गरे । समारोहमा नेकपा एमालेका जिल्ला सचिव रणबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद चौधरी, प्राध्यापक जगन्नाथ जोशी, साहित्यकार पदमराज जोशी लगायतले धारणा व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष जनकराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य नरेन्द्रराज भट्टले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन लक्ष्मणदत्त भट्टले गरेका थिए ।
शहीद दिवसकै अवसरमा कैलाली मोडल स्कुलले र्‍यालीको आयोजना गर्‍यो । विद्यालयदेखि शहीद गेटसम्म निकालिएको र्‍यालीमा शिक्षक, विद्यार्थीको सहभागिता रहेको थियो ।
त्यस्तै, धनगढी उपमहानगरपालिका–५, जाईस्थित शैलेश्वरी स्कुलले नगर सरसफाई कार्यक्रम गरेको छ ।
यस क्रममा लभ्ली चौकदेखि मटियारी पुलसम्मको सडक सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, समैजी सामुदायिक वनका सदस्यहरू, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कर्मचारी लगायको सहभागिता रहेको विद्यालयका प्रिन्सिपल जगन्नाथ जोराले बताए ।
सो अवसरमा विद्यालयका अध्यक्ष नृप वड लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
लिटिल स्टारद्वारा विविध कार्यक्रम
कञ्चनपुर । कञ्चनपुर जिल्लाको बेल्डाँडी नगरपालिका–८, वैवाहमा रहेको लिटिल स्टार स्कुलले शहीद दिवसका अवसरमा विविध कार्यक्रम गरेको छ ।
यस क्रममा विद्यालयमा आयोजित कार्यक्रममा शहीदहरूको तस्बिरमा माल्यार्पण गरिएको थियो ।
सो अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवकी उपाध्याय, विद्यालयका प्रिन्सिपल शंकरराज चिमाडी, सुगन्ध सोती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम, नाटक, कविता, मुक्तक लगायत प्रस्तुति गरेका थिए ।

एमालेद्वारा सभा
बाजुरा । शहीद दिवसका अवसरमा नेकपा एमालेले बाजुरामा सभा गरेको छ । एमाले बाजुराका अध्यक्ष कालिबहादुर शाहीले शहीदहरूको.सम्झना तथा राष्ट्रियताको रक्षाका लागि जनतालाई जागरुक बनाउन आमसभाको आयोजना गरिएको बताए । सभामा एमाले केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, जिल्ला अध्यक्ष शाही, सचिव बलदेव रेग्मी, उपसचिव गगन रावल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सो अवसरमा राष्ट्रिय खेलकुद प्रतियोगिताका पदक विजेता चार जना खेलाडीलाई सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार