२३ बैशाख २०८१, आईतवार

केही उपलब्धि प्राप्त भएका छन्



रूपक सुनार अध्यक्ष, बौनिया बजार व्यवस्थापन समिति

†महोत्सवको तयारी कस्तो छ ?
– ‘सेती लोकमार्ग निर्माण, कृषि, शिक्षा उद्योग र व्यापार, बर्दगोरिया धार्मिक क्षेत्र विकास पर्यटनको मूल आधार’ भन्ने नाराका साथ हामीले यो महोत्सव आयोजना गरेका छौँ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । महोत्सवको उद्घाटन सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने कार्यक्रम तय भएको छ । त्यस्तै, स्टल बुकिङ, स्वागतद्वार र मञ्च निर्माण आदि काम पूरा भएका छन् । राष्ट्रपतिबाट बर्दगोरिया धार्मिकस्थलको पनि अवलोकन गर्ने कार्यक्रम छ । त्यहाँसम्म सडक निर्माण गरिएको छ । सुरक्षाको व्यवस्थापन भइसकेको छ ।
†महोत्सव आयोजनाको प्रमुख उद्देश्य के हो ?
– सुदूरपश्चिम आर्थिक रूपमा पछाडि परेको क्षेत्र हो । त्यस्तै, सेती अञ्चल अझैं पछाडि पारिएको छ । यस्तो अवस्थामा भारतदेखि चीनसम्म जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन सेती लोकमार्ग बौनिया बजारसंगै जोडिएको छ । यो दुई सय ८६ किलोमिटर लामो लोकमार्ग हो । यो सडकमा पर्ने चुरेको वनका कारण निर्माणमा ढिलाइ भइरहेको छ । यस्तो अवस्थामा अवरोधहरू फुकाएर दु्रत गतिमा निर्माण गराउनका लागि सरकारको ध्यानाकर्षण गराउनु यो महोत्सवको एउटा प्रमुख उद्देश्य हो । महोत्सवमा राष्ट्र प्रमुख, सरकारका मन्त्रीहरूको उपस्थितिले यो महोत्सवको उद्देश्य पूरा हुने विश्वास गरेका छौँ ।
†महोत्सवको मुख्य आकर्षण के रहन्छ ?
– यो थारू समुदायको बाहुल्यता भएको क्षेत्र हो । आदिवासी थारूको संस्कृति, पहिरन, खानपान, भाषाशैली प्रंमुख आकर्षणको रूपमा रहनेछन् । यसका साथै स्थानीय उत्पादन, थारू नाच, हुड्के नाच, देउडा नाच, मारुनी नाच, रमाइलो मेला र कृषि प्रदर्शनी आकर्षणका रूपमा रहने छन् ।
†चौथो पटक महोत्सव आयोजना हुँदैछ, हालसम्मका उपलब्धि के हुन् भन्ने ठान्नुहुन्छ ?
– महोत्सवले लिएका सबै उद्देश्य पूरा भएका छैनन्, तर केही ठोस उपलब्धि भएका छन् । जस्तो, सेती
लोकमार्गको निर्माण कार्य पूरा नभए पनि काम जारी भएको अवस्था छ । त्यस्तै, बर्दगोरिया धार्मिक स्थलको प्रचारप्रसारमा वृद्धि आएको छ । अहिले यो क्षेत्र राष्ट्रियस्तरमा समेत चिनिन थालेको छ । उद्देश्य पूरा नभएसम्म हामीले निरन्तर रूपमा रचनात्मक तरिकाले राज्यलाई दबाब दिइनै रहने छौँ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार