१८ बैशाख २०८१, मंगलवार

रतनपुरमा नि:शुल्क स्वास्थ्य शिविर



रतनपुर (कैलाली)  ।  ढाड र हातखुट्टा दुख्ने रोगबाट पीडित पवेरा गाविस वडा नम्बर ७ का ६० वर्षीय देशराज चौधरीले शनिबार नजिकैको स्वास्थ्य शिविरमा चेकजाँच सेवा पाए । उनी घरबाट करिब दुई किलोमिटर टाढा रतनपुर—५, बड्का वसन्तामा शनिबार सञ्चालित स्वास्थ्य शिविरमा स्वास्थ्योपचार सेवा लिन आएका थिए ।
नेपाल औषधी व्यावसायी संघ, सेती अञ्चल शाखाको आयोजनामा सो शिविर सञ्चालन गरिएको थियो ।
लामो समयदेखि हातखुट्टा र ढाड दुख्ने रोगका कारण उठबस तथा हिडडुल गर्न समस्या भोगिरहेका देशराजले चेकजाँचपछि नि:शुल्क पनि पाएको बताए ।
त्यस्तै, कानको रोगबाट ग्रसित ४० वर्षीया मनिषा चौधरीले पनि शिविरमा नि:शुल्क स्वास्थ्य चेकजाँच र औषधी पाएकी थिइन् । उपचार गराउने रकम नभएका कारण कान पाक्ने रोगबाट पीडित रहेकी उनले भनिन्— ‘यो शिविर मेरै लागि चलेको रहे छ ।’
स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा प्रदान गरिरहेका डाक्टर फूूलाराम चौधरीले स्वास्थ्य चेकजाँचका लागि आएका अधिकांसमा उच्च रक्तचाप, ग्याष्ट्रिक, हाडजोर्नी र आँखा सम्बन्धी समस्या देखिएको बताए । उनले ३० जनामा सिकलसेल एनेमियाको समस्या देखिएको बताए ।
स्वास्थ्य शिविरमा आयुर्वेदिक सिनियर फिजिसियन डा. खगेन्द्र बम, सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कैलाश श्रीपाइली, उदासीपुर प्राथमिक स्वास्थ्य चौकी प्रमुख डा. सन्तोष गोइत लगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
संघका अध्यक्ष गयाप्रसाद कुश्मीका अनुसार स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीले सेवा पाएका थिए । लिएको संघका अध्यक्ष ग्याप्रसाद कुश्मीले जानकारी दिए । शिविर सञ्चालनका लागि नेपाल औषधी तथा बिक्री प्रतिनिधि संघ, धनगढी र नेपाल सीआरएस कम्पनीले सहयोग गरेको अध्यक्ष कुश्मीले बताए ।
स्वास्थ्य शिविरको पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीले उद्घाटन गरेका थिए । सो अवसरमा उनले चौधरीले नेपाल सरकारले कैलालीबाट सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा सहभागि हुन आग्रह गरे । ‘सरकारले आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउन कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रमको सुरुवात गरेको हो’ उनले भने ‘यो कार्यक्रमलाई प्रभावकारी बनाउन सबै घर परिवार सहभागित हुन जरुरी छ ।’ उनले आफू मन्त्री हुँदा सुदूरपश्चिमको दुई स्थानमा डाइलोसीस सेवा, सिकलसेल एनमिया जाँच गर्ने
मेसिन, कैलालीबाट स्वास्थ्य बिमा कार्यक्रम र नौ वटा नसर्ने रोगको एक लाख रुपैयाँसम्मको उपचार सेवा लागू गरिएको स्मरण गरे ।
संघका अध्यक्ष कुश्मीको अध्यक्षतामा भएको शिविर उद्घाटनका क्रममा महासचिव पृथ्वी बमले स्वागत गरेका थिए भने सदस्य टेकनारायण पौडेलले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार