२३ बैशाख २०८१, आईतवार

हुलाकी राजमार्ग उद्घाटन, तर बन्नै बाँकी



धनगढी  ।  कैलालीमा निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्गको बिहीबार उद्घाटन गरिएको छ । धनगढीदेखि नारायणपुर सत्तीसम्मको ६२ किलोमिटर लामो हुलाकी सडकको अझैं १८ किलोमिटर सडक निर्माण हुन बाँकी छ । त्यस्तै, छ वटा पुल पनि निर्माणाधीन अवस्थामा छन् ।
बिहीबार एक कार्यक्रमबिच भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत रञ्जित रायले संयुक्त रूपमा हुलाकी राजमार्गको उद्घाटन गरे ।
कैलालीको मध्य मागमा पर्ने वसन्ता वनको रतनपुरदेखि लालबोझीसम्मको १८ किलोमिटर सडक निर्माण हुन बाँंकी छ ।
सन् २०१० नोभेम्बरदेखि निर्माण सुरु गरिएको हुलाकी राजमार्ग सन् २०१३ सम्म निर्माण कार्य पुरा गर्ने सम्झौता भएको थियो । भारतीय सरकारको अनुदान रहेको सो राजमार्गको लागत एक अर्ब २६ करोड रुपैयाँ रहेको छ । निर्माण हुन बाँकी सडकखण्ड अब नेपाल सरकार आफैँले बनाउने सरकारी अधिकारीहरूले बताए । सो सडकखण्ड निर्माणका लागि ४५ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
यस्तै, बिहीबार नै मन्त्री लेखक र राजदूत रायले मोहनापुल–डोकेबजार–बेलौरी–बेलडाँडी हुलाकी राजमार्गको शिलान्यास गरेका छन् । ६२ किलोमिटर लामो सो सडक निर्माणका लागि भारत सरकारले एक अर्ब २० करोड रुपैयाँ अनुदान प्रदान गर्ने जनाइएको छ ।
हुलाकी राजमार्ग उद्घाटन कार्यक्रममा मन्त्री लेखकले कञ्चनपुरदेखि झापासम्मको सात सय ५० किलोमिटर लामो हुलाकी राजमार्गले तराईका नेपाली जनताको आर्थिक विकासमा ठुलो टेवा पुग्ने विश्वास गरे ।
कार्यक्रममा भारतीय राजदूत रायले हुलाकी राजमार्ग आर्थिक विकासको कडी बन्ने धारणा व्यक्त गरे ।
राजदूत रायले भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सहयोग गरिरहेको चर्चा गरे । उनले नेपालमा यदाकदा सुनिने भारतविरधी स्वरहरू पनि नेपालमा आर्थिक समृद्धिसंगै कम हँुदै जाने विश्वास व्यक्त गरे । उनले भने— ‘नेपाल र भारतबीचको शदियौं पुरानो सामाजिक, सांस्कृतिक सम्बन्धहरूलाई कुनै विरोध वा असन्तुष्टिहरूले बिगार्न सक्दैन ।’
राजदूत रायले पञ्चेश्वर, कर्णाली लगायतका जलविद्युत आयोजना निर्माणमा भारत सरकारको पहल भइरहेको बताए ।
कार्यक्रममा भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव धनबहादुर तामाङले पनि मन्तव्य व्यक्त गरेका थिए ।

राजदूतलाई कालोझण्डा
कैलालीमा निर्माणाधीन हुलाकी राजमार्गको उद्घाटनका लागि धनगढी आएका नेपालका लागि भारतीय राजदूत रञ्जित रायलाई बिहीबार कालोझण्डा देखाइएको छ ।
नेकपा (एमाले) निकट युवा सङ्घ र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरूले राजदूत रायलाई कालोझण्डा देखाउनका साथै विरोधी नारा पनि लगाएका थिए ।
हुलाकी राजमार्ग उद्घाटनका लागि क्याम्पसरोडमा बनाइएको समारोहस्थलमा पुगेका उनलाई कालोझण्डा देखाइएको थियो । उनीहरूले भारत तथा राजदूत विरोधी नारा पनि लगाएका थिए ।
कालोझण्डा प्रदर्शन गर्ने क्रममा प्रहरीले नेकपा (एमाले) कैलालीका
सदस्य दीर्घराज जोशी, राष्ट्रिय
जनमोर्चा निकट विद्यार्थी सङ्गठनका नेता उमेश कँडेल लगायत छ जनालाई पक्राउ गरेको थियो ।
कालोझण्डा प्रदर्शन तथा चर्को नारा र प्रहरी हस्तक्षेपका कारण समारोहस्थलमा केही बेर तनाव सिर्जना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार