७ जेष्ठ २०८१, सोमबार

दुर्घटना न्युनिकरणसम्बन्धी प्रशिक्षण



धनगढी । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, बस इकाईको आयोजनामा सोमबार धनगढीमा दुुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम भएको छ । प्रशिक्षणमा यातायातसंग आवद्ध व्यावसायी तथा मजदुरहरूको सहभागिता रहेको थियो ।
प्रशिक्षण कार्यक्रम उद्घाटनका क्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय महासचिव भीम ज्वालाराईले पछिल्लो तीन महिनाको अवधिमा सवारी दुर्घटनामा तीन सय ८५ जनाको.ज्यान गएको उल्लेख गरे । उनले सवारी दुर्घटनाका पछाडि विभिन्न कारण भए पनि प्रायः घटनामा ‘सवारी चालकलाई नै मुख्य कारण’ भन्दै पन्छिने गरेको चर्चा गरे ।
उनले पुराना सवारी साधनलाई विस्थापन, अनुमति पत्र वितरणमा कडाई, पार्किङ व्यवस्था, यातायात अनुशासनको कडाईका साथ पालनाका लागि सबै गम्भीर हुन आग्रह गरे ।
कार्यक्रममा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक जयसिंह विष्टले सवारी साधनका धनीहरूले ट्राफिक प्रहरीलाई बिगारिरहेको आरोप लगाए । उनले ट्राफिक नियम उलंघन गर्ने र प्रहरीलाई पनि नियममा बस्न नदिने प्रयास गर्ने प्रवृत्ति रहेको बताए ।
यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख कृष्णप्रसाद भूषालले सबैले आआफ्नो तहमा स्वयम् संवेदनशील बन्न आग्रह गरे ।
कार्यक्रममा सुदूरपश्चिम यातायात व्यवसायी सङ्घका वरिष्ठ उपाध्यक्ष पदमराज सापकोटा, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन केन्द्रीय उपाध्यक्ष भागीरथ भट्टराई, सुदूरपश्चिम यातायात मजदुर भलाई कोष समिति अध्यक्ष केशवराज पन्त लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
सङ्गठनका बस इकाई कमिटी अध्यक्ष अर्जुनराजसिंह स्वँ“रको अध्यक्षतामा भएको कार्यक्रममा निर्मल मिश्रले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन अनिल मल्लले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार