३ जेष्ठ २०८१, बिहीबार

जेष्ठ नागरिकहरूलाई न्यायो कपडा वितरण



धनगढी  ।  कैलाली र बर्दियामा जेष्ठ नागरिकहरूलाई न्यानो कपडा वितरण सुरु भएको छ । कैलालीका फुलबारी, उर्मा, गेटा र चौमाला तथा बर्दिया जिल्लाका छ स्थानमा गरी नौ सय थान न्यानो कपडा वितरण गरिने जनाइएको छ ।
यस क्रममा शनिवार फुलबारीमा न्यानो कपडा वितरण गरिएको थियो । कपडा वितरण कार्यक्रमको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत कलमसिंह महराले सुरुवात गरेका थिए ।
‘न्यानो कपडा वितरणले निश्चय पनि विपन्न तथा असहाय जेष्ठ नागरिकलाई ठुलो राहत पुग्ने छ’ विपद् उत्थानशीलतामा जेष्ठ नागरिकको सहभागिता परियोजना अन्तर्गत जेष्ठ नागरिक समूह, फुलबारीले आयोजना गरेको कार्यक्रममा उनले भने– ‘यो वास्तवमै मानवीय कार्य हो ।’
‘हामी बाँच्यौ भने अवश्य नै जेष्ठ नागरिक हुन्छौं, त्यसैले यो सवाल मेरो पनि हो र तपाईँको पनि’ भन्ने नारासहित सो कार्यक्रम भएको थियो ।
सो अवसरमा फुलबारीका जेष्ठ नागरिकलाई ९० थान न्यानो सामग्री वितरण गरियो । उनीहरूलाई एक थान कम्बल, एक थान टोपी र एक/एक जोड पञ्जा र मोजा प्रदान गरिएको थियो ।
हेल्प ऐज इन्टरनेशनलको साझेदारीमा जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालद्वारा सञ्चालित सो परियोजना अन्तर्गत दुई जिल्लामा जेष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको संस्थाका अध्यक्ष शेरबहादुर बस्नेतले बताए ।
सो अवसरमा संस्थाका कार्यक्रम निर्देशक धर्मराज पाठकले स्वागत गरेका थिए । कार्यक्रममा महिला तथा बालबालिका कार्यालय प्रमुख पूजा काफ्ले, अपाङ्ग सङ्घका नवराज गिरी, सीमा सुरक्षा बलका जयलाल ऐर, दिनेश सुवेदी, रामचन्द्र चौधरी, हर्कबहादुर घिमिरे, डिल्लीराज चौधरीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन परियोजना अधिकृत सुरज परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार