१४ बैशाख २०८१, शुक्रबार

चुरेमा अवैध रुख कटानीमा बृद्धि



धनगढी  ।  कैलालीको पूर्वीउत्तरी क्षेत्र (चुरे) मा केही समययता अवैध रूपमा रुख कटानीमा व्यापक वृद्धि आएको छ । जिल्लाको पूर्वीउत्तरी क्षेत्रमा पर्ने सुगरखाल गाउँ विकास समितिका विभिन्न वनक्षेत्रमा व्यापक मात्रामा रुख कटानी भइरहेको स्थानीयले बताएका छन् ।
स्थानीयका अनुसार सुगरखालको ढम्कने, बचैला, रानीवन, पत्थरगढ, निगाली, बढिकासाई, फल्लेबिसौनाको तल्लापानी, आमगैरा लगायतका स्थानमा बढी परिमाणमा रुख कटानी भइरहेको छ ।
सुगरखालको तराई क्षेत्रसंग जोडिएका भावर क्षेत्र (चुरेफेदी) को बाटो हुँदै प्रत्येक दिनजसो काटिएका हरिया सालका गोलिया निकासी हुने गरेको स्थानीयले बताए । स्थानीयले सुगरखालका विभिन्न स्थानमा अवैध रूपमा रुख कटानी भइरहँदा पनि वन कार्यालय रोकथामका लागि उदासिन भएको आरोप लगाए ।
सुगरखाल गाविसका दूरदराजका वन क्षेत्रमा जताततै भरखर काटिइएका सालका फेद फेला पर्ने गरेका छन् । त्यस्तै केही ठाउँमा खुलेआम आरा मेसिन राखिएका छन् । स्थानीयका अनुसार अवैध रुख कटानी तथा तस्करीमा काठ तस्कर गिरोहहरू नै सक्रिय रहेका छन् ।
सुगरखाल गाविसको वडा नम्बर १, २, ३, ७ र ९ को वनमा हरेक वर्ष अवैध रूपमा रुख कटानी तथा तस्करी हुने गरेको स्थानीयको भनाई छ ।
सुगरखालमा अवैध रूपमा रुख कटानीको खबर आएपछि छानबिनका लागि सहायक बन अधिकृतको नेतृत्वमा टोली परिचालन गरिएको कैलालीका जिल्ला वन अधिकृत रमेशबहादुर चन्दले जानकारी दिए ।
मंगलबार अनुुमोदनसंग कुरा गर्दै जिल्ला वन अधिकृत चन्दले भने– ‘तीन दिनअघि मलाई सो क्षेत्रमा अवैध रूपमा रुख कटानी भइरहेको सूचना प्राप्त भएको थियो, त्यसको लगत्तै टोली पठाएको छु ।’
उनले इलाका वन कार्यालय, बल्चौरका सहायक वन अधिकृत धर्मनाथ यादवको नेतृत्वमा छानबिनका लागि टोली पठाइएकोमा मंगलबार साँझसम्म कुनै जानकारी प्राप्त हुननसकेको बताए । ‘स्थलगत छानबिनका लागि खटाइएको टोलीसंग फोनसम्पर्क हुनसकेको छैन’ उनले भने– ‘टोलीबाट सूचना नआएसम्म यथार्थ विवरण दिन कठिनाई भइरहेको छ ।’
स्थलगत छानबिनका लागि खटिएका सहायक वन अधिकृत यादवले भने सुगरखालका कुनै पनि वनमा हरिया रुख काटिएको नपाइएको दावी गरे । ‘छ जनाको टोली सहित म दुई दिनसम्म हरिया रुख काटिएका भनिएका क्षेत्रमा घुमे, तर कही पनि कटानी भएको भेट्टाइन’ उनले भने– ‘सुगरखाल निकै ठूलो क्षेत्रफल भएको गाविस भएकाले सबैतिरको सूचना संकलन गर्न तथा भ्रमण गर्न कठिनाई हुने गरेको छ ।’
उनले सुगरखालमा रहेका सामुदायिक वनका पदाधिकारीसंग कुराकानी गर्दा रुख कटानी भएको जानकारी नपाएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार