६ कार्तिक २०८१, मंगलवार

भुवा पर्व शुरु



बाजुरा  ।  तरवार, ढाल नचाउँदै देउडा र मागल गीतका साथ भूवा पर्व शुरु भएको छ । सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा धुमधामसंग मनाइने भूवा पर्व हरेक वर्ष पुस औंसीबाट शुरु हुन्छ ।
सुदूरपश्चिमका मौलिक सांस्कृतिक चाडपर्वमध्ये भूवा पर्व पनि प्रमुख हो । शुक्रबारबाट शुरु भएको भूवा पर्व परम्परागत ढंगले राको (मसाल) सल्काएर आरम्भ भएको छ । यो पर्व द्वापर युगमा कौरव र पाण्डवबीचको युद्धलाई स्मरण गरेर मनाइने गरेको लोकश्रुति छ ।
भूवा नाचमा सहभागी हुनेहरू (पुरुष) ले हातमा तरवार, खुकुरी तथा ढाल लिएर युद्ध कलाको प्रर्दशन गर्दछन् । यो पर्वको शुरुको दिन (औंसी) मा गाउँगाउँमा भूवाखाडा (भुवा नाच्ने चौर) मा मुढा बालेर राँको बोकेर भूवा नाचको सुरुवात गरिन्छ ।
बाजुराका ब्रह्मतोला, मार्तडी, रजातोली, कोल्टी, जुगाडा, आटिचौर लगायतका गाउँमा भूवा पर्व निकै धुमधामका साथ मनाइन्छ ।
भूवा पर्वको विशेष आर्कषण चाली नाच, ठाडो भस्सो, भारी खेल, चौभान, माँगल, लगायतका नाच रहने गरेका छन् ।
भूवा पर्व विशेषगरी वीरताको गाथा प्रदर्शनका रूपमा मनाइन्छ । भूवा नाचमा तरबार, खुकरी र ढाल बोकेका पुरुषहरू गोलबद्ध भएर दमाह, ढोलकको तालमा लयपूर्वक नाच प्रदर्शन गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार