१२ बैशाख २०८१, बुधबार

पहलमानपुर गाविसलाई खुला दिसामुक्त तथा खोपयुक्त घोषणा



धनगढी  ।  कैलालीको पहलमानपुर गाउँ विकास समितिलाई खुला दिसामुक्त र पूर्ण खोपयुक्त घोषणा गरिएको छ । शुक्रबार एक विशेष समारोहबीच सो गाविसलाई खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त घोषणा गरियो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले समारोहमा गाविसलाई खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त गाविस घोषणा गरेका थिए ।
गाविसका तीन हजार बढी घरधुरीमा शौचालय निर्माण भएपछि खुला दिसामुक्त घोषणा गरिएको गाविस सचिव सुरेशराज पौडेलले बताए ।
पहलमानपुर गाविस, नवजीवन सेवा संघ कैलाली, बालकल्याण टीकापुर, जिल्ला विकास समिति कैलाली, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलाली, पहलमानपुर स्वास्थ्य चौकी, स्थानीय पूर्ण खोप समन्वय समिति लगायतको सहयोगमा खुला दिसामुक्त तथा पूर्ण खोप गाविस अभियान सञ्चालन गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिजालले खुला दिसामुक्त र पूर्ण खोपयुक्त प्रतिबद्धता घोषणापत्र वाचन गर्नुका साथै हस्ताक्षर गरी घोषणा गरेका थिए । उनले खुला दिसामुक्त तथा पूर्ण खोपयुक्त घोषणालाई दिगो बनाउन सबैबीच समन्वय र सहयोगका लागि आह्वान गरे ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख खगेन्द्र शाहीले कैलालीलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सरोकारवालाको सहयोग आवश्यक रहेको बताए । उनले कैलालीमा अझै १६ गाविस, पाँच नगरपालिका र एक उपमहानगरपालिका पूर्ण खोप घोषणा गर्न बाँकी रहेको बताए । निमित्त प्रमुख शाहीले जिल्लामा अझै २० हजार बढी बालबालिका खोपबाट वञ्चित रहेको पनि बताए ।
पहलमानपुर गाविस सचिव तथा समन्वय समितिका संयोजक सुरेशराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला विकास समितिका योजना अधिकृत हर्कबहादुर कडायत, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर दलबहादुर शाह, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष भरत शाह, महिला सञ्जालका अध्यक्ष यम पोख्रेल, नवजीवन संस्थाका कार्यक्रम अधिकृत एकिन्द्र ठकुल्ला, वल्र्डभिजनका विकास गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उर्मा पनि खुला दिसामुक्त घोषणा
यसैगरी, उर्मा गाविस (हाल धनगढी उपमहानगरपालिका वडा नम्बर १५, १६ र १७) लाई पनि शुक्रबार खुला दिसामुक्त घोषणा गरिएको छ ।
उर्मामा भएको एक विशेष कार्यक्रममा उपमहानगरपालिकाका कार्यकारी अधिकृत ध्यानकुमार थापाले उर्मालाई खुला दिसामुक्त घोषणा गरे ।
कार्यक्रममा इन्जिनियर द्विजराज भट्ट, जिल्ला विकास समितिका प्रशासकीय अधिकृत नारायणप्रसाद शर्मा, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका पुष्पराज पन्त, नेपाली कांग्रेसका आशाराम चौधरी, एमालेका दिलबहादुर बोहरा, नवजीवन संस्थाका सल्लाहकार नानु देवान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
उर्मामा दुई हजार नौ सय १० घरधुरीमा शौचालय निर्माण भइसकेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार