११ बैशाख २०८१, मंगलवार

स्कूले बालबालिकाले खाजा खर्च ममतालाई दिए



धनगढी । कैलालीको अत्तरिया नगरपालिकाको घोडसुवास्थित ठेकराज माविका विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटौति गरेर स्वर्गीय पत्रकार कर्ण बोहराकी पत्नी ममताको उपचारका लागि चार हजार रुपैयाँ सहयोग गरेका छन् ।
धेरै विद्यार्थीले मंगलबार र केहीले बुधबार खाजा खर्च कटौति गरेर चार हजार रुपैयाँ संकलन भएको हो । नेपाल जुनियर रेडक्रस सर्कलको अगुवाईमा सो रकम संकलन भएको शिक्षक सुवासचन्द्र भण्डारीले बताए ।
विद्यालयका प्रधानाध्यापक रामचन्द्र ओझा र नेपाल जुनियर रेडक्रसका बालबालिकाहरूले सो रकम संयुक्तरूपमा नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य तथा सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिका संयोजक प्रकाशविक्रम शाहलाई हस्तान्तरण गरेका थिए ।

ममता बोहराको उपचारका लागि संकलित रकम नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजकलाई हस्तान्तरण गर्दै प्रधानाध्यापक रामचन्द्र ओझा र विद्यार्थीहरू ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संयोजक शाहले ठेकराज मावि र विद्यार्थीको सत्कार्यले सबै मानिसलाई सहयोगी बन्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले विद्यार्थीहरूको सहयोगी भावनाको जति प्रशंसा गरे पनि कम हुने बताए ।
प्रधानाध्यापक ओझाले हरेक मानवीय संकटमा ठेकराज माविका बालबालिकाले कहिले नगद त कहिले खाद्यान्न संकलन गरेर पीडितलाई सहयोग गर्ने गरेको बताए । यस्ता क्रियाकलापले परम्परारादेखि चल्दै आएको नेपालीको सहयोगी भावना जीवित राखिराख्न मद्दत पुग्ने बताए ।

ठेकराज माविमा आठ सय विद्यार्थी अध्ययनरत छन्, तीमध्ये छात्राको संख्या पाँच सय ५० रहेको छ । सरकारी भए पनि सो माविले विगतका एसएलसी परीक्षामा ४३ प्रतिशत विद्यार्थी उत्र्तीण गर्दे आएको तथ्य छ ।
पत्रकार महासंघ सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिले फेसबुकबाट चलाएको ममता बचाउ अभियानबाट अहिलेसम्म तीन लाख ६० हजार रुपैयाँ संकलन भइसकेको जनाइएको छ । कैलाली, कञ्चनपुर र विदेशमा रहेका नेपालीले चलाएका यस्ता अभियानबाट झण्डै २० लाख संकलन भएको अनुमान छ । पत्नी ममताको उपचारमा रहेका ३८ वर्षिय पत्रकार बोहराको मंसिर १० गते काठमाडौंको भेनस अस्पतालमा आकस्मिक निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार