३ जेष्ठ २०८१, बिहीबार

किसानका समस्या समाधान गर्न सरकार तत्पर– कृषिमन्त्री



पवेरा  । कृषिमन्त्री गौरीशंकर चौधरीले सरकारले मुलुकलाई दश वर्षभित्र कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताएका छन् । उनले वर्तमान सरकार किसानले हाल बेहारिरहेका समस्या समाधा गर्न तत्पर रहेको पनि बताए ।
उनले सरकारले किसानलाई आधुनिक प्रविधिबाट खेती गर्नका लागि उपयुक्त वातावरण बनाउने बताए । बिहीबार कैलालीको पवेरामा भएको एक कार्यक्रममा उनले भने– सरकारले किसानहरूलाई आधुनिक खेतीतर्फ लाग्न प्रोत्साहनका कार्यक्रम लागू गरिसकेको छ ।
चेतनशील महिला सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा मन्त्री चौधरीले सरकारले किसानहरूका लागि समयमै मलखाद, वीऊको व्यवस्था गर्ने बताए ।
‘अब किसानहरूले यी समस्या बेहोर्नुपर्ने छैन’ कृषिमन्त्रीले सरकारले लागू गरेको ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानले बेहोरिरहेका सबै समस्याको समाधान गर्ने दाबी गरे । उनले कृषि आधुनिकीकरण परियोजना अन्तर्गत किसानलाई आवश्यक पर्ने प्रविधि, सिंचाईं सुविधा, वीऊ, मलखाद लगायतका सुविधा प्रदान गर्नेतर्फ सरकार तत्पर रहेको बताए ।
उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले कैलालीको उदासिपुरमा उद्घाटन गरेको परियोजना अन्तर्गतको ‘सुपरजोन’ कार्यक्रम सरकारको आफ्नै स्रोत र जनशक्तिबाट सञ्चालन गरिएको बताए । उनले यो परियोजना अन्तर्गत एक वर्षको अवधिमा पाँच अर्ब ७८ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य रहेको बताए ।
कृषि मन्त्री चौधरीले परियोजनाअन्तर्गत मुलुकका सबै सात प्रदेशमा सुपरजोन कार्यक्रम लागू गरिएको बताए । यसअन्तर्गत कैलालीमा गहुँ, झापामा धान, काभ्रेमा आलु, जुम्लामा स्याउ, बारामा माछा कार्यक्रम रहेको छ । त्यस्तै, सुपरजोनसंगै जोन, ब्लक र पकेट क्षेत्र कार्यक्रम पनि सञ्चालन गरिएको छ ।
उनले ‘एक गाउँ, एक प्राविधिक’ नीति अनुसार सरकारले सबै ठाउँमा प्राविधिक खटाईने बताए । उनले कैलालीको मसुरियामा कृषि अनुसन्धान केन्द्र स्थापनाका लागि पनि तयारी भइरहेको जानकारी दिए ।
कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि अधिकृत युवराज पाण्डेले सरकारले कृषिलाई आधुनिकीकरण गर्न किसानहरुका लागि विशेष कार्यक्रम लागू गरेको बताए । उनले पवेरामा धान र तरकारी उत्पादनमा राम्रो क्षेत्र रहेको बताए । उनले विश्व बैंकको सहयोगमा पवेरामा एक सय मेट्रिक टन क्षमताको कोल्डस्टोरको स्थापना गर्ने पनि तयारी भइरहेको जानकारी दिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष हिरा चौधरी, गाविस सचिव बलराम चौधरी लगायतले मन्त्री चौधरीलाई कृषि क्षेत्रका समस्याबारे जानकारी गराएका थिए ।
यसैबिच, कृषि मन्त्री चौधरीले बिहीबार विभिन्न गाविसको भ्रमण गरेका छन् । गत पाँच गतेदेखि उनले जिल्लाको गदरिया, बसौटी, उदासिपुर, उर्मा, पवेरा, मसुरिया, अत्तरिया, हसुलिया लगायतका ठाउँका किसानहरूसंग भेटघाट तथा छलफल गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार