१० श्रावण २०८१, बिहीबार

महसुल नबुझाउनेको लाइन काटिँदै



धनगढी । नेपाल विद्युत प्राधिकरण, धनगढीले लामो समयदेखिको वक्यौता महसुल नबुझाउने ग्राहकको विद्युत लाइन काट्ने कार्यलाई तीव्र बनाएको छ । प्राधिकरणले पछिल्ला चार महिनाको अवधिमा चार सय ८८ ग्राहकको विद्युत लाइन काटेको जनाएको छ ।
प्राधिकरणले गत साउनदेखि कार्तिक महिनासम्म ती ग्राहकको विद्युत लाइन काटेको जनाएको छ । प्राधिकरणले दुई महिनाभन्दा बढी समयदेखि महसुल नबुझाउने र १० हजार रुपैयाँ बढी बक्यौता महसुल भएका ग्राहकको लाइन काट्ने गरेको जनाएको छ ।
प्राधिकरणको धनगढी वितरण केन्द्रका लेखा अधिकृत गोविन्दप्रसाद ढकालका अनुसार ११ करोड १९ लाख ६२ हजार रुपैयाँ बक्यौता महसुल रहेकोमा कार्तिकसम्म ७५ लाख ९० हजार रुपैयाँ असुल गरिएको बताए । उनले चार सय ८८ ग्राहकबाट ८६ लाख ७६ हजार आठ सय रुपैयाँ असुल हुन बाँकी रहेको बताए । प्राधिकरणका अनुसार सबैभन्दा बढी सडक बत्तीको वक्यौता महसुल रहेको छ ।
त्यस्तै, धनगढी वितरण केन्द्रले चालू आर्थिक वर्षको कार्तिक महिनासम्म २२ करोड ६३ लाख ४१ हजार रुपैयाँको विद्युत बिक्री गरेकोमा २१ करोड १९ लाख ६२ हजार रुपैयाँ संकलन गरेको जनाएको छ ।
प्राधिकरणले धनगढीमा गत आर्थिक वर्षमा ४२ करोड ९५ लाख ४४ हजार विद्युत बिक्री गरेकोमा ४१ करोड २० लाख ३४ हजार रुपैयाँ संकलन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार