१ जेष्ठ २०८१, मंगलवार

ममताको उपचारका लागि थप सहयोग जुट्दै



काठमाडौं । स्वर्गीय पत्रकार कर्ण बोहराकी धर्मपत्नी ममता बोहराको उपचारका लागि थप ९८ हजार एक सय रुपैयाँ सकलन भएको छ ।

नेपाल पत्रकार महासंघमा सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिले फेसबुकबाट सहयोग अभियान थालेपछि थप ९८ हजार एकसय रुपैयाँ संकलन भएको हो । यसअघि दुई लाख संकलन भइसकेको छ ।

पछिल्लो पटक यूएई बस्ने सुदूरपश्चिमवासीले ५० हजार रुपैयाँ पठाएका छन् । सुदूरपश्चिम सेवा समाजका अध्यक्ष चेतबहादुर थापा चेतनले बिरामीको उपचारमा सहयोग पुगाउन यूएईमा रहेका नेपालीबाट रकम संकलन गरेर पठाएको जनाए ।

समाजका कोषाध्यक्ष भीमबहादुर सिंहले फेरि पनि सक्दो सहयोग संकलन गरेर पठाउने बताए । बोहराको उपचारका लागि कैलाली बहुमुखी क्याम्पसले १५ हजार, नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले १० हजार, व्यवसायी सुजित शर्माले ६ हजार, स्वर्गीय आमाको सम्झनामा पेशाागत महासंघ नेपालकी उपमहासचिव पूर्णा जोशीले ५ हजार सहयोग गरिन । यसअघि पत्रकार महासंघको सगरमाथा एफएफम शाखाले ५ हजार, डोटी र काठमाडांै घर भएकी चेतना चन्दले ५ हजार, डोटीका गौतम रोकायाले २ हजार, कैलालीका पत्रकार जयराज न्यौपानेले २ हजार, अर्का पत्रकार लीलाराज खत्रीले १ हजार १ सय रुपैयाँ प्रदान गरेका छन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम क्षेत्रीय समन्वय समितिका संयोजक प्रकाशविक्रम शाहले केही दिनमै महासंघ केन्द्रले खोलेको खातामा सो रकम जम्मा गर्ने बताए । महासंघ केन्द्रीय कार्यालयले ममता बोहराको उपचारमा सहयोग जुटाउन कमलादीस्थित नेपाल बंगलादेश बैंक लिमिटेडमा खाता खोलेको छ । सुदूरपश्चिम क्षेत्रीय समन्यय समितिले यसअघि संकलित दुई लाख रुपैयाँ पनि सो खातामा जम्मा गरिसकेको छ ।

ममता उपचार अभियानमा अमेरिका, जापान, इजरायल, यूएई देशमा बस्ने नेपाली र नेपालमा पनि विभिन्न स्थानबाट पत्रकार, उद्योगी व्यवसायी र सर्वसाधारणले स्वतःफूर्तरूपमा सहयोग गरिरहेका छन् । श्रीमतिको उपचारमा रहेकै बेला मंसिर १० गते पत्रकार बोहराको आकस्मिकरूपमा भेनस अस्पतालमा निधन भएको थियो ।

 थप लिंक

ममताले नागरिकता पाइन्

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार