हिमेश पन्तविरुद्ध साइबर ब्युरोमा उजुरी, पत्रकारमाथि अपमानजनक पोस्ट गरेको आरोप
काठमाडौ/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तविरुद्ध पत्रकारमाथि सामाजिक सञ्जालमार्फत अश्लील गालीगलौज र आपत्तिजनक सामग्री प्रकाशन गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।
जनआस्था अनलाइनमा प्रकाशित समाचारलाई लिएर पन्तले संस्थाका अध्यक्ष तथा सम्पादकविरुद्ध व्यक्तिगत बेइज्जती, अपमान र घृणा फैलाउने प्रकृतिका सामग्री फेसबुकमा पोस्ट गरेको भन्दै आस्था प्रकाशन प्रालिका तर्फबाट विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम कारबाहीको माग गरिएको हो।
उजुरीसँगै पन्तको फेसबुक पेजमा प्रकाशित सामग्रीका स्क्रिनसट तथा समाचारसँग सम्बन्धित अदालतको फैसलाको प्रतिलिपिसमेत पेस गरिएको जनाइएको छ।
जनआस्थामा असोज २९ गते ‘कलाकार हिमेश, अरूको सम्पत्ति हडप्नेले कस्तो सुशासन सिकाउनेरु’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। उक्त समाचारमा धादिङको थाक्रे गाउँपालिका–१० का तिलकप्रसाद बिडारीले हिमेशका बुबा सुब्बा पन्तसँग खरिद गरेको साढे चार रोपनी जग्गा भोगचलन गर्न नपाएको विषय समेटिएको थियो।
पीडितको भनाइ र अदालतको फैसलालाई आधार बनाएर प्रकाशित समाचारप्रति असन्तुष्टि जनाउँदै पन्तले फेसबुकमा पत्रकार तथा सम्पादकलाई लक्षित गरी विभिन्न आपत्तिजनक अभिव्यक्ति दिएको उजुरीमा उल्लेख छ।
पन्तले आफ्नो फेसबुक पेजमा ‘ब्ल्याकमेलरले दशैँ राम्रै मनाउने भो’, ‘कति करोडको खेल हो फेरि’, ‘मलाई पनि ब्ल्याकमेलिङ गर्ने हो क्यारु गुहार गुहार सरकार१’ र ‘पत्रकारिताको आवरणमा ब्ल्याकमेलिङको धन्दा चलाउने मुकुट सिधा कुरा जनतासँगले उतारिदिएछ’ जस्ता अभिव्यक्ति पोस्ट गरेको जनाइएको छ।
प्रकाशित समाचारको विषयलाई लिएर तथ्य र प्रमाणसहित खण्डन गर्नुको सट्टा व्यक्तिगत आरोप र अपमानजनक अभिव्यक्ति दिइएको भन्दै उजुरीकर्ताले कानुनी कारबाहीको माग गरेका छन्। यद्यपि, उजुरीमा लगाइएका आरोप र त्यसको कानुनी निष्कर्ष सम्बन्धित निकायको अनुसन्धान तथा प्रक्रियाबाट टुङ्गो लाग्ने विषय हुन्।
जग्गासम्बन्धी विवादमा बिडारीको पक्षमा फैसला
समाचारमा उल्लेख गरिएको जग्गासम्बन्धी विवादमा जिल्ला अदालतले यसअघि नै बिडारीको पक्षमा फैसला गरेको विवरण छ।
२०७२ माघ ५ गते जिल्ला न्यायाधीश ईश्वरराज आचार्यको इजलासले कित्ता नम्बर ५२२ र ५२१ को जग्गा वादी तिलकप्रसाद बिडारीले भोगचलन गर्न पाउने ठहर गरेको थियो।
फैसलामा जग्गाको श्रेस्ताबाट उक्त जग्गा बिडारीको नाममा रहेको देखिएको उल्लेख छ। प्रतिवादीका साक्षी बद्री अर्यालले बिडारीले तीन–चार वर्षसम्म जग्गा भोगचलन गरेपछि प्रतिवादीले भोगचलन गर्न थालेको बयान दिएका थिए। त्यस्तै, वादीका साक्षी बलराम बिडारीले पनि बिडारीले भोगचलन गर्दै आएको जग्गा प्रतिवादीहरूले प्रयोग गर्न थालेपछि विवाद उत्पन्न भएको बताएका थिए।
यी आधारमा अदालतले वादीको दाबीबमोजिम जग्गाको खिचोला मेटाई बिडारीलाई चलन चलाउन पाउने ठहर गरेको फैसलामा उल्लेख छ।
जग्गासम्बन्धी अदालतको फैसलालाई आधार बनाएर प्रकाशित समाचारपछि सुरु भएको विवाद अहिले पत्रकारमाथि सामाजिक सञ्जालमा गरिएको भनिएको दुर्व्यवहार र त्यसविरुद्ध परेको उजुरीसम्म पुगेको छ। अब साइबर ब्युरोले उजुरीमाथि के प्रक्रिया अघि बढाउँछ भन्ने विषयले यस प्रकरणको आगामी दिशा निर्धारण गर्नेछ।
यस्ताे छ अदलतकाे आदेश
धादिङ जिल्ला अदालत
इजलाश
माननीय जिल्ला न्यायाधीश श्री ईश्वरराज आचार्य
फैसला
मि.नं ०७१–CP–००९८
कोड नं. ४६–०७१–००२९१
निर्णय नं.१८
मुद्दाः–जग्गा खिचोला मेटाई चलन चलाई पाउँ ।
बादीको नाम थर वतन धा.जि.केबलपुर गा.बि.स.वडा न.ं ७ बस्ने तिलक प्रसाद बिडारी.१
साक्षी
दरशथ रेग्मी, लोकराज बिडारी, केशब थापा, बलराम बिडारी ।
प्रतिबादीको नाम थर वतन
धा.जि. थाक्रे गा.बि.स.वडा नं. ४ बस्ने रामकली पन्त…………….१
ऐ ऐ बस्ने राधाकृष्ण पन्त………१
ऐ ऐ बस्ने सेते पन्त भनि लेखिएको श्रीराम पन्त………….१
ऐ ऐ बस्ने रामकृष्ण पन्त……….१
ऐ ऐ बस्ने जयराम पन्त………..१
ऐ ऐ बस्ने हरेराम पन्त…………१
साक्षी
कृष्ण बहादुर थापा, राजाराम पन्त, खेम बहादुर थापा, बद्री अर्याल, शीब बहादुर थापा ।
अदालतबाट बुझेको
साक्षीः–बद्री अर्याल, बलराम बिडारी, ।
कागजः–
न्याय प्रशाशन ऐन , २०४८ को दफा ७ तथा अ.बं. २९ नं. समेतले यस अदालतको क्षेत्राधिकार अन्तर्गत दायर रहेको प्रस्तुत मुद्दाको निर्णय तथ्य यस प्रकार छः–
मेरो नाउमा दर्ता भएको धा.जि. थाक्रे गा.बि.स.वडा नं. ३ (ग) कि.नं. ५२२ को क्षेत्रफल ४–०–१–१ जग्गा र ऐ ऐ कि.नं. ५२१ को क्षेत्रफल ०–८–२–२ को जग्गामा धानबाली लगाई पाकी तयार भएपछि काटुम्ला भन्दैथिए । मिति २०७१ साल मंसिर ११ गतेका दिन बिपक्षीहरुले उक्त मेरो खेतको धान काटी झाटी लुटी लगेकोले लुटपिट तर्फ आजै छुट्टै फिराद दायर गरेकोले जग्गा खिचोला तर्फ मुलुकी ऐन जग्गा मिच्नेको १८ नं. र जग्गा पजनीको १७ नं. बमोजिम यो फिराद गर्न आएको छु । उक्त कि.नं. ५२१ र ५२२ को जग्गामा बिपक्षीहरुले कब्जा गरी हटक खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने फिराद पत्र ।
कि.नं. ५२१ र ५२२ को जग्गा पहिला देखि हाम्रो जग्गा हुदा हामीले कमाई भोग चलन गरी आएका छौ । हामी प्रतिबादी मध्येका रामकली पन्तबाट बिपक्षी तिलक प्रसाद बिडारीलाई जग्गा बन्दकी लिखत पास गरी दिएको र लिखत भएको मितिले ६ महिना भित्र रकमको सावा व्याज समेत गरी रु.१,५०,०००। लिई बिपक्षीलाई बुझाउन जाँदा बिपक्षीले पैसा बुझ्न नमानी जग्गा फिर्ता गर्छु भन्दै आलटाल गरी जालसाजी तरिकाले हामीहरु संग पैसा बुझी जग्गा फिर्ता नगरेको हो । बादीको जग्गा होइन हामीहरुको जग्गा हुदा उक्त जग्गामा भएको धानबाली हामीले काटेको हो । हाम्रो जग्गामा हामीले धान बाली काट्दा खिचोला नहुने हुदा बादी दाबी झुट्टा हो भन्ने प्रतिबादी रामकली पन्त, जयराम पन्त, राधाकृष्ण पन्त, श्रीराम पन्त को संयुक्त प्रतिउत्तर पत्र ।
प्रतिबादी मध्येका रामकृष्ण पन्त र हरेराम पन्तका नाउमा जारी भएको म्यादमा प्रतिउत्तर नफिराई सुरु म्यादै गुजारी बसेको ।
बादीको जग्गामा प्रतिबादीले खिचोला गरेको हो भन्ने बादीको साक्षी बलराम बिडारीले गरेको बकपत्र ।
बिबादित जग्गा पहिला प्रतिबादीको हो । बादीले खरिद गरी लिएको जग्गा प्रतिबादीहरुले भोग चलन गरेको छ भन्ने प्रतिबादीको साक्षी बद्री अर्यालले गरेको बकपत्र ।
यस अदालतको ठहर
नियम बमोजिम साप्ताहिक तथा दैनिक पेशी सुचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा मिसिल सम्लग्न कागजात अध्ययन गरी हेर्दा बादीको तर्फबाट उपस्थित बिद्धान अधिबक्ता रामचन्द्र भट्ट र प्रतिबादीको तर्फबाट उपस्थित बिद्धान अधिबक्ता रामकृष्ण अधिकारीको बहस समेत सुनि बादी दाबी बमोजिम प्रतिबादीहरुले खिचोला गरेको हो Œ होइन भन्ने सम्बन्धमा निर्णय दिनु पर्ने देखियो ।
यसमा मेरो नाउमा दर्ता भएको जग्गामा प्रतिबादीहरुले खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने फिराद दाबी भएकोमा बादीको जग्गामा खिचोला गरेको छैन भन्ने समेत प्रतिउत्तर परेको देखियो । दाबीको कि.नंं . ५२२ र ५२१ को जग्गा बादी तिलक प्रसाद बिडारीका नाउमा रहेको भन्ने श्रेस्ताबाट देखिएको र प्रतिबादीको साक्षी बद्री अर्यालले बकपत्र गर्दा बादीले ३।४ बर्ष भोग चलन गरेर अहिले प्रतिबादीले नै भोग चलन गरिरहेको छ भनि लेखाएको पाइयो । बादीका साक्षी बलराम बिडारीले बकपत्र गर्दा पनि बादीले भोग चलन गर्दै आएको जग्गा अहिले प्रतिबादीहरुले भोग चलन गरेको हुनाले खिचोला भएको हो भन्ने व्यहोरा लेखाएको देखिदा दाबीको जग्गामा बादी दाबी बमोजिम खिचोला मेटाई बादीले चलन चलाई पाउने ठहर्छ । अरु तपसिल बमोजिम गर्ने गरी मुलुकी ऐन, अ.बं. १८६ नं. बमोजिम यो फैसला गरि दिए ।
तपशिल
बादी तिलक प्रसाद बिडारीके माथी ठहर खण्डमा लेखिए बमोजिम धा.जि. थाक्रे गा.बि.स.वडा नं. ३ (ग) कि.नं. ५२२ को क्षेत्रफल ४–०–१–१ जग्गा र ऐ ऐ कि.नं. ५२१ को क्षेत्रफल ०–८–२–२ को जग्गामा खिचोला मेटाई पाउने ठहरी फैसला भएकोले मुद्दा अन्तिम भएपछि दं.स.को ४३ नं. को म्याद भित्र चलन चलाई पाउँ भनि दरखास्त गर्न आए नियमानुसार चलन चलाई दिनु……………………………===========================================================================================.१
बादी तिलक प्रसाद बिडारीले खिचोला मेटाई पाउने ठहरी फैसला भएकोले फिराद साथ राखेको कोर्टफि रु.११,४७०। भराई पाउ भनि कोर्टफि ऐन, २०१७ को दफा १५।११ को म्याद भित्र प्रतिबादीहरुको यसै सरहदको जायजेथा देखाई दरखास्त गर्न आए केही दस्तुर नलिई भराई दिनु ……………………………….==================….२
यो इन्साफमा चित्त नबुझे ३५ दिन भित्र श्री पुनराबेदन अदालत पाटनमा पुनराबेदन गर्नु भनि प्रतिबादीहरु रामकली पन्त, राधाकृष्ण पन्त, सेते भनि लेखिएको श्रीराम पन्त, रामकृष्ण पन्त, जयराम पन्तलाई पुनराबेदन म्याद दिनु र प्रतिबादी रामकृष्ण पन्त र हरेराम पन्तले सुरु म्यादै गुजारी बसेकोले अ.बं. २०८ नं. ले पुनराबेदनको म्याद दिनु परेन……………………………..=======================……..३
सरोकारवालाले यो फैसला सहित कागजातको नक्कल माग्न आए लाग्ने दस्तुर लिई नक्कल सारी सराइ दिनु…………………………………………….======================४
प्रस्तुत मुद्दाको दायरीको लगत कट्टा गरी फैसला बिद्युतीय माध्यमबाट अपलोड गरी पिठमा जनाउनु………………………………………………………….================५
यो मिसिल पुनराबेदन परे श्री पुनराबेदन अदालत पाटनमा पठाउने गरी अभिलेख शाखामा बुझाइ दिनु …………………………………………………………..६
माननीय जिल्ला न्यायाधीश ज्यू, न्यायाधीश
बाट बोली टिपाए बमोजिम कम्प्युटर
टाइप गर्ने फाँटवाला ना.सु. कृष्ण कुमार श्रेष्ठ
इति सम्बत २०७२ साल माघ ५ गते ३ शुभम………….




