विटिआइ व्यावसायिक ग्रुपको सिइओमा बराल
काठमाडौँ / अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी पुस्तक लेखन, बैंकिङ सेवा र खेलकुद प्रशिक्षणमा संलग्न दिलीपराज बरालले अब विटिआई ग्रुप अफ भेन्चर्सको नेतृत्व सम्हाल्ने भएका छन् ।
महोत्तरीका ४८ वर्षीय बराल प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन । ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले उनलाई आज औपचारिक रूपमा स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका हुन ।

बरालले आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक र ज्योति विकास बैंकमा काम गरिसकेका छन् । व्यवस्थापन, कानुन तथा राजनीतिशास्त्रको ज्ञान हासिल गरेका उनी संस्थागत सुशासन, अध्ययन र व्यावसायिक अनुभवलाई सफलताको आधार मान्छन् ।
बराल नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घका प्रमुख प्रशिक्षकसमेत हुन । यसका साथै सामाजिक गतिविधिमा पनि उनको संलग्नता रहेको छ।
विटिआई ग्रुपअन्तर्गत सेवा, उद्योग, व्यापार, खेलकुद, सञ्चारमाध्यम, शिक्षा, स्वास्थ्य, लागूऔषध रोकथाम तथा सामाजिक क्षेत्रका १० वटा संस्था आबद्ध छन्। ती संस्थाले २७ वर्षदेखि आआफ्नो क्षेत्रमा काम गर्दै आएका छन्।
विविध क्षेत्रमा अनुभव हासिल गरेका बरालको नयाँ जिम्मेवारीले हाम्रो व्यावसायिक यात्रालाई थप फराकिलो बनाउने अध्यक्ष रायमाझीले बताए ।




