कुलतमा फसेका किशोरीलाई मनोपरामर्श
ग्रेस फाउन्डेसन महिला पुनःस्थापना केन्द्रमा मनोपरामर्शका लागि पुगेका मनोपरामर्शदाता र वीटीआई ग्रुपका प्रतिनिधिहरु ।
ललितपुर/ ललितपुरको महालक्ष्मी नगरपालिका–९ लामाटार ठकुरीगाउँस्थित ग्रेस फाउन्डेसन महिला पुनःस्थापना केन्द्रमा रहेका लागुऔषध तथा विभिन्न दुर्व्यसनबाट प्रभावित किशोरी तथा महिलालाई मनोपरामर्श दिइएको छ।
वीटीआई व्यावसायिक ग्रुपअन्तर्गतको कल्प फाउन्डेसनको आयोजनामा आइतबार वरिष्ठ मनोपरामर्शदाता निर्मला बस्नेतले केन्द्रमा रहेका ११७ जना किशोरी तथा महिलालाई मनोपरामर्श दिएकी हुन्।
मनोपरामर्शदाता बस्नेतले कुलतबाट प्रभावितलाई दुर्व्यसनबाट मुक्त गराउन आफू नियमित रूपमा केन्द्रमा आएर मनोपरामर्श दिने बताइन्। केन्द्रमा १३, १४ र १६ वर्ष उमेरका किशोरीसमेत उपचारका लागि रहेको उनले जानकारी दिइन्। केन्द्रमा मध्यम उमेरका महिलासमेत रहेका छन्।
सो अवसरमा राष्ट्रिय महिला आयोगकी उपसचिव सीता अधिकारीले लागुऔषध तथा विभिन्न दुर्व्यसनबाट प्रभावित महिलाका लागि महिला आयोग तथा अन्य सरकारी निकायबाट गर्न सकिने सहयोगका लागि पहल गर्ने बताइन्।
वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले दुर्व्यसनबाट प्रभावितलाई कुलतबाट मुक्त गराउन हौसला दिने तथा सहयोग पुग्ने गरी थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
वीटीआई ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिलीपराज बरालले दुर्व्यसनबाट प्रभावितले आफूलाई मानसिक रूपमा बलियो बनाएर कुलतबाट छुटकारा पाउन सक्रिय हुनुपर्ने बताए।
ग्रेस फाउन्डेसन महिला पुनःस्थापना केन्द्रकी कार्यक्रम संयोजक जुनुराज भण्डारीले १३ वर्षदेखि सञ्चालनमा रहेको केन्द्रले हालसम्म करिब १० हजार किशोरी तथा महिलाको उपचार गरेको बताइन्। उनले केन्द्रले सरकारी क्षेत्रबाट अपेक्षित सहयोग नपाएको गुनासो गरिन्।
उनका अनुसार केन्द्रमा व्यवहारसम्बन्धी समस्या भएका तथा अत्यधिक मदिरा सेवन गर्ने महिला बढी छन्। अस्ट्रेलिया, अमेरिका लगायतका देशबाट नेपाल आउने नेपाली युवतीमध्ये केही लागुऔषध सेवनबाट प्रभावित भएर उपचारका लागि केन्द्रमा आउने गरेको उनले बताइन्।
केन्द्रमै बसेर केही किशोरीले कक्षा ८ देखि १२ तथा स्नातक तहसम्मको अध्ययन गरिरहेको उनले जानकारी दिइन्। केन्द्रबाट उपचारपछि फर्किएकामध्ये करिब ३० प्रतिशत पूर्ण रूपमा स्वस्थ भएको दाबी पनि उनले गरिन्।
दुर्व्यसनबाट प्रभावितलाई केन्द्रमा ल्याउने क्रममा उनीहरूले कुटपिट गर्ने, गालीगलौज गर्ने तथा लुगा खोल्नेजस्ता व्यवहार गर्दा उद्धार तथा पुनःस्थापनामा कठिनाइ हुने गरेको भण्डारीले बताइन्।

वीटीआई ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले ग्रेस फाउन्डेसन महिला पुनःस्थापना केन्द्रलाई मायाको चिनोस्वरूप हरियो बिरुवा प्रदान गर्दै ।




