मर्द रोको भित्रभित्र कसले बुझ्ने हो, पुरुषका पीडा टिकटकमा भाइरल
काठमाडौ/ तीज गीतमा प्रायः महिलाका पीडा र भावना समेटिने गरेका छन्। तर, यसपटक एउटा तीज गीतको एक लाइनले पुरुषको मन छुँदै टिकटकमा तहल्का मच्चाइएको छ।
गायक सुरेश शाहीको स्वरमा रहेको ‘आँसु बरर’ शीर्षकको तीज गीतको ‘मर्द रोको भित्रभित्र कसले बुझ्ने होरु’ भन्ने एक लाइन अहिले टिकटकमा निकै लोकप्रिय बनेको छ। भदौ ७ गते दिउँसो सार्वजनिक भएको यस गीतलाई अहिलेसम्म करिब छ लाख पटक हेरिएको छ भने गीतका विभिन्न अंशमा छ हजारभन्दा बढी टिकटक भिडियो बनेका छन्।
विशेषगरी ‘मर्द रोको भित्रभित्र कसले बुझ्ने हो’ भन्ने लाइनमा बनेका टिकटक भिडियोको संख्या धेरै छ। रमाइलो पक्ष त के छ भने, यसमा पुरुषहरूले आफ्ना ‘भित्रका पीडा’ अभिनय र हाउभाउमार्फत व्यक्त गरिरहेका छन्। कतिपयले सरकारी कार्यालयमै औपचारिक पोसाकमा समेत भिडियो बनाएर गीतको यो लाइनलाई आफ्नै शैलीमा प्रस्तुत गरेका छन्।
गीतकार सुमित्रा खड्काका अनुसार पुरुषको पीडा र उनीहरूले सहजै व्यक्त गर्न नसक्ने भावनालाई समेटेर नै त्यो लाइन गीतमा राखिएको हो।
“मर्दको पीडा महसुस गरेर नै मैले ‘आँसु बरर’ तीज गीतमा यो लाइन राखेकी थिएँ,” खड्काले भनिन्, “अहिले त्यही लाइनमा सबै पुरुष रमाउनुभएको छ।”
गीत सार्वजनिक भएको केही दिनमै रसुवामा आएको विनाशकारी बाढी र त्यसबाट भएको जनधनको क्षतिका कारण गीतले अपेक्षाअनुसार चर्चा पाउन नसकेको गायक सुरेश शाही बताउँछन्। तर त्यसका बाबजुद गीतले टिकटकमा पाएको प्रतिक्रियाले आफूहरू उत्साहित भएको उनको भनाइ छ।
“रसुवाको दुःखद घटनाले गर्दा सोचेजस्तो प्रचार हुन पाएन,” शाहीले भने, “तर दर्शक–श्रोताबाट अथाह माया पाएको छु। टिकटकमा प्राप्त प्रतिक्रियाले झन् उत्साहित बनाएको छ।”
गीतको उक्त पङ्क्तिबाहेक अन्य अन्तराका भिडियोसमेत टिकटकमा एक लाखभन्दा बढी पटक हेरिएका छन्।
तीजको माहोलमा सार्वजनिक भएको यो गीत बाढीका कारण उत्पन्न राष्ट्रिय शोकले केही ओझेलमा परे पनि सामाजिक सञ्जालमा भने पुरुषका दबिएका भावना पोख्ने माध्यम बनेको छ। गीतको एउटा लाइनले नै हजारौँ पुरुषलाई टिकटकको क्यामेराअघि उभ्याएको छ—‘मर्द रोको भित्रभित्र कसले बुझ्ने हो।’
गीतमा गायक शाहीसँगै नवोदित गायिका विनूशा राईको पनि स्वर रहेको छ। म्युजिक भिडियोमा गायक सुरेश शाही, सुमित्रा खड्का, सुदिपा पाठक र विक्की विश्वकर्माले अभिनय ९मोडलिङ० गरेका छन् भने निर्देशन शेर शाहीले गरेका छन्।
गीतमा महिलाले बढ्दो सुनको मूल्यप्रति श्रीमानसँग गुनासो पोखेकी छिन्। ‘सुनको भाउ बढेर छोइक्नु भएन’ भन्दै उनले तीजमा गरगहना लगाउने चाहना पूरा गर्न नसकेको पीडा व्यक्त गरेकी छिन्। त्यसको जवाफमा श्रीमानले पनि आफ्ना आर्थिक बाध्यता सुनाएका छन्।
गीतको अर्को अन्तरा सासू–बुहारीको सम्बन्धमा केन्द्रित छ। सासूले दूध नदिएको, बुहारीले घाँस नकाटेको देखि घरभित्रको सामान्य भनाभनसम्मलाई गीतमा हास्यरसमा प्रस्तुत गरिएको छ। अन्ततः ‘सासू–बुहारी नमिलेको घर कहाँ छ र रु’ भन्ने भावमार्फत सम्बन्धमा समझदारी आवश्यक रहेको सन्देश दिन खोजिएको छ।
त्यस्तै, नन्दको व्यङ्ग्यात्मक कुरा र सासूको व्यवहारदेखि श्रीमान्–श्रीमतीबीचका गुनासा पनि गीतमा समेटिएका छन्। एउटै कुरा पटक–पटक दोहोर्याउने श्रीमान्को बानीदेखि आफूले बोलेका कुरा श्रीमतीले नसुन्नेसम्मका प्रसंगलाई रमाइलो संवादका रूपमा उठाइएको छ।
गीतको अन्तिम भाग भने अझ बढी समसामयिक छ। जेठाजु युरोप र देवर अमेरिका पुगे पनि आफ्ना श्रीमान् भने आफ्नै देशमा बेरोजगार रहेको महिलाको गुनासो छ। विदेशमा रहेकाले सम्मान पाउने तर घरभित्रै आफ्नाबाट अपहेलित हुनुपर्ने अवस्थालाई पुरुष पात्रले पीडाका रूपमा व्यक्त गरेका छन्।
तीजको रमझमका बीच महँगी, पारिवारिक सम्बन्ध, बेरोजगारी, वैदेशिक रोजगारी र दाम्पत्य जीवनका साना–ठूला गुनासालाई गीतले एउटै कथामा बुनेको छ। यसरी हेर्दा यो गीत केवल नाचगानका लागि मात्र नभई नेपाली समाजको बदलिँदो पारिवारिक र आर्थिक अवस्थाको रमाइलो दर्पण बनेको छ।




