जेनीजी विद्रोहबाट पाठ सिक्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनाको आह्वान

काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले गत वर्ष भएको जेनीजी विद्रोहको राजनीतिक उपलब्धि जनअपेक्षाअनुसार अघि बढ्न नसकेको निष्कर्ष निकाल्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि नयाँ प्रकारको जनवादी आन्दोलन आवश्यक रहेको बताएको छ।
पार्टी अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले विद्रोहको एक वर्ष पूरा भएको अवसरमा जारी गरेको प्रेस वक्तव्यमा विद्रोहका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै त्यस घटनाबाट आगामी आन्दोलनका लागि गम्भीर राजनीतिक र वैचारिक शिक्षा लिनुपर्नेमा जोड दिएका छन्।
वक्तव्यअनुसार गत वर्ष भाद्र २३ गते भएको संघर्षमा २३ जना र भाद्र २४ गतेसम्म गरी कुल ५७ जना युवाले ज्यान गुमाएका थिए। दुई दिनसम्म चलेको जनविद्रोहले तत्कालीन सरकार अपदस्थ गरी नयाँ सरकार गठनको परिस्थिति सिर्जना गरे पनि त्यसबाट अपेक्षित राजनीतिक परिवर्तन हुन नसकेको पार्टीको भनाइ छ।
नेकपा (बहुमत)ले विद्रोहको मूल कारणका रूपमा संसद्वादी दलाल पुँजीवादी शक्तिहरूको अराजकता, संस्थागत भ्रष्टाचार, कुशासन, बेथिति, शोषण–उत्पीडन र युवाहरूको बढ्दो विदेश पलायनलाई औँल्याएको छ। लामो समयदेखि थुप्रिँदै आएका यस्ता असन्तुष्टि विस्फोटको अवस्थामा पुगेपछि विद्रोह भएको पार्टीको विश्लेषण छ।
तर आन्दोलनपछि बनेको सरकारमा समेत राजनीतिक व्यवस्थाको आधारभूत चरित्र परिवर्तन हुन नसकेको पार्टीको आरोप छ। ‘व्यवस्था होइन, अवस्था बदल्ने’ सुधारवादी नारामार्फत सीमित परिवर्तनको प्रयास भए पनि सत्ता एकाधिकारवादी पुँजीपति तथा नोकरशाही पुँजीपति वर्गको प्रभावबाट मुक्त हुन नसकेको उसको निष्कर्ष छ।
पार्टीले वर्तमान राज्यसत्ताको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएको छ। सुकुम्बासीमाथि राज्य आतंक, किसानविरोधी बजेट, पुँजीपतिको हितमा कानुन निर्माण तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने नियम बनाइएको उसको आरोप छ। शिक्षा, स्वास्थ्य र साना व्यवसायमा करको भार बढाइएको तथा विपद्पीडितको उद्धारमा समेत सरकारले अपेक्षित भूमिका निर्वाह नगरेको वक्तव्यमा उल्लेख छ।
नेकपा (बहुमत)ले विद्यमान पुँजीवादी व्यवस्थाले उपभोक्तावाद, व्यक्तिवाद, अराजकता र विसर्जनवादी प्रवृत्तिलाई बढावा दिइरहेको दाबी गरेको छ। यस्ता प्रवृत्तिले अन्ततः पुँजीवादी शोषणलाई नै बल पुर्याउने उसको तर्क छ।
अन्तर्राष्ट्रिय परिस्थितिलाई पनि पार्टीले आफ्नो विश्लेषणमा समेटेको छ। भूमण्डलीकृत साम्राज्यवाद, त्यसका विकासोन्मुख मुलुकका दलाल शासक र उत्पीडित जनताबीचको अन्तर्विरोध बढ्दै गएको भन्दै भारत, बंगलादेशलगायत विभिन्न मुलुकमा देखिएका राजनीतिक तथा सामाजिक उथलपुथललाई साम्राज्यवादी संकटको अभिव्यक्तिका रूपमा व्याख्या गरिएको छ।
विश्वव्यापी परिस्थितिमा समाजवादी, मार्क्सवादी–लेनिनवादी–माओवादी शक्तिबीच एकता आवश्यक रहेको पार्टीको भनाइ छ। नेपालमा भएको जेनीजी आन्दोलनमा सहभागी युवामा स्पष्ट वैचारिक दृष्टिकोण र संघर्षपछि सत्ता सञ्चालन गर्ने योजनाको अभाव रहेको कारण त्यसको राजनीतिक लाभ फेरि पुरानै शक्तिको हातमा पुगेको पार्टीको निष्कर्ष छ।
नेपालका प्राकृतिक स्रोतमा साम्राज्यवादी लगानी बढ्दै गएको तथा एमसीसी, एसपीपी र विप्पाजस्ता सम्झौताले मुलुकको आर्थिक तथा राजनीतिक समस्यालाई थप जटिल बनाएको पनि वक्तव्यमा उल्लेख छ। महँगी बढ्नु, उत्पादन घट्नु र युवाको विदेश पलायन तीव्र हुनु यसै प्रक्रियाका परिणाम भएको पार्टीको दाबी छ।
नेकपा (बहुमत)ले अबको आन्दोलनका लागि वैचारिक स्पष्टता र राजनीतिक सत्ता परिवर्तनको लक्ष्यलाई सँगसँगै अघि बढाउनुपर्ने जनाएको छ। नेपाली युवाले वैज्ञानिक विश्वदृष्टिकोण निर्माण गर्नु पहिलो आवश्यकता भएको भन्दै पार्टीले दलाल पुँजीवादी सत्ताविरुद्ध संगठित संघर्षलाई दोस्रो र व्यावहारिक आवश्यकता भनेको छ।
वक्तव्यको अन्त्यमा पार्टीले देशभर रहेका क्रान्तिकारी पार्टी, संगठन र व्यक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेको छ। सबै प्रकारका उत्पीडनको अन्त्य गर्दै श्रमजीवी तथा प्रगतिशील जनताको हितमा नयाँ प्रकारको जेनीजी आन्दोलन निर्माण गर्न र सत्ता परिवर्तनको आन्दोलनमा व्यवस्थित रूपमा सहभागी हुन उसले अपिल गरेको छ।




