हाक जा हानलाई नेपाल निम्त्याएको विषयमा ओलीमाथि रावलको प्रश्न
काठमाडौ/ नेकपाका नेता डा. भीमबहादुर रावलले युनिफिकेशन चर्चकी प्रमुख हाक जा हानलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले नेपालमा औपचारिक निमन्त्रणा दिएको विषयलाई लिएर प्रश्न उठाएका छन्।
दक्षिण कोरियाको युनिफिकेशन चर्चकी प्रमुख हानलाई हालै दक्षिण कोरियाको अदालतले दुई वर्ष कैद सजाय सुनाएको घटनालाई उल्लेख गर्दै रावलले विगतमा आफूले उठाएको प्रश्न सही भएको दाबी गरेका हुन्।
सोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले हानलाई राजनीतिक कोषसम्बन्धी कानुन उल्लंघन र घुसखोरीसहितका अभियोगमा दोषी ठहर गर्दै दुई वर्षको जेल सजाय सुनाएको हो। अदालतले तत्कालीन प्रथम महिला किम गन-हीलाई महँगा विलासी सामग्री उपलब्ध गराएको तथा राजनीतिक प्रभाव विस्तारका लागि रकम र उपहार प्रयोग गरिएको अभियोगमा हानलाई दोषी ठहर गरेको छ।
रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत हानलाई ओली प्रधानमन्त्री रहेका बेला नेपालमा ठूलो स्वागतसहित औपचारिक निमन्त्रणा गरिएको स्मरण गरेका छन्। उनका अनुसार २०७५ साल मङ्सिर १५ गतेदेखि पाँच दिनसम्म काठमाडौँमा आयोजित एसिया प्रशान्त शिखर सम्मेलनमा सहभागी हुन हान नेपाल आएकी थिइन्।
रावलले उक्त सम्मेलनका क्रममा तत्कालीन सरकारले देशभरिका निर्वाचित जनप्रतिनिधि तथा उच्च पदस्थ व्यक्तिलाई समेत कार्यक्रममा सहभागी गराएको दाबी गरेका छन्। उनले एक सार्वजनिक समारोहमा हानले दिएको एक लाख अमेरिकी डलर तत्कालीन प्रधानमन्त्री ओलीले ग्रहण गरेको विषयसमेत उल्लेख गरेका छन्।
युनिफिकेशन चर्चका संस्थापक सन म्युङ मुन तथा चर्चको गतिविधिबारे आफूले पहिले नै प्रश्न उठाउँदै आएको रावलको भनाइ छ। उनले त्यस्तो विवादास्पद पृष्ठभूमि भएको संस्थाकी प्रमुखलाई नेपालमा औपचारिक रूपमा आमन्त्रण गरी सरकारी तहबाट कार्यक्रम गरिनु उपयुक्त नभएको धारणा आफूले तत्कालीन समयमा पार्टी बैठक र केन्द्रीय कार्यालयमा समेत राखेको बताएका छन्।
रावलले आफ्नो त्यही धारणाका कारण तत्कालीन प्रधानमन्त्री ओलीसहितका नेताहरू आफूविरुद्ध असन्तुष्ट बनेको दाबी गरेका छन्। त्यसै घटनाबाट ओलीसँग आफ्नो राजनीतिक तथा वैचारिक अन्तर्विरोध सुरु भएको उनको भनाइ छ।
देश, जनता, सरकार र पार्टीको हितमा राखेको धारणाको कारण मप्रति तत्कालीन प्रधानमन्त्री ओली समेतका नेताको बक्रदृष्टि पर्यो डा. रावलले भनेका छन् ।
‘त्यसबेला मैले उठाएको कुरा के गलत थियो ? कसैप्रति पूर्वाग्रह वा दुराग्रह राखेर प्रकट गरिएको थियो ?’ भन्दै रावलले अहिलेको घटनाक्रमले आफूले त्यतिबेला उठाएको प्रश्नको औचित्य स्पष्ट भएको दाबी गरेका छन्।
उनले आफ्नो अभिव्यक्ति व्यक्तिगत गुनासो नभएको पनि स्पष्ट पारेका छन्। भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन विगतका घटनाक्रम र आफूले उठाएका प्रश्न सम्झाउन मात्रै खोजेको उनको भनाइ छ।




