२२ भदौ २०८३, सोमबार

भोटेकोशी विपद्को सन्देश बोकेर यूएन महासभामा जाँदै प्रधानमन्त्री शाह



काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन असोज ६ गते अमेरिकाको न्यूयोर्क जाने भएका छन्। महासभामा सम्बोधन गरेपछि उनी असोज ९ गते नेपाल फर्कने तयारीमा छन्।

भोटेकोशी बाढीबाट नेपालले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेपछि प्रधानमन्त्री शाहले त्यसलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने तयारी गरेका हुन्। महासभाको सम्बोधनमा उनले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका विपद्, जलवायु न्याय र अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे विश्व समुदायको ध्यानाकर्षण गराउने अपेक्षा गरिएको छ।

यसअघि सरकारले महासभामा नेपालको प्रतिनिधित्व परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा गराउने निर्णय गरेको थियो। तर भोटेकोशी बाढीपछि जलवायुजन्य विपद्को विषय प्रधानमन्त्रीकै तहबाट अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउनुपर्ने आवाज बढेपछि शाह आफैँ न्यूयोर्क जाने निर्णयमा पुगेका हुन्।

प्रधानमन्त्री शाहले असोज ८ गते महासभालाई सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। भ्रमणलाई छोटो र सीमित राख्ने तयारी गरिएको छ। पछिल्लो तयारीअनुसार प्रधानमन्त्रीसहितको नेपाली टोली पनि विगतका महासभा भ्रमणको तुलनामा सानो रहनेछ।

यस भ्रमणलाई प्रधानमन्त्री शाहको पद सम्हालेपछिको पहिलो विदेश भ्रमणका रूपमा पनि हेरिएको छ। न्यूयोर्कमा रहँदा महासभाको सम्बोधनसँगै सम्भावित द्विपक्षीय तथा साइडलाइन भेटवार्ताको तयारीसमेत भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार