२१ भदौ २०८३, आइतबार

जलविद्युत् आयोजनामा बाढीको कहर, ९१९ जना अझै बेपत्ता



काठमाडौ/ भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाको भौतिक संरचना तहसनहस पार्नुका साथै त्यहाँ कार्यरत सयौँ श्रमिक तथा कर्मचारीको अवस्थासमेत अज्ञात बनाएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अनुसार बाढीबाट प्रभावित १२ जलविद्युत् आयोजनामा कार्यरत ९१९ जना अझै सम्पर्कविहीन छन् । प्रभावित आयोजनामध्ये आठ वटा सञ्चालनमा रहेका छन् भने चार वटा निर्माणाधीन छन् । यी आयोजनाको कुल जडित क्षमता ६६९ मेगावाट रहेको छ ।

इप्पानले १२ मध्ये ११ आयोजनामा सम्पर्कविहीन व्यक्तिको विवरण संकलन गरेको जनाएको छ । उपलब्ध विवरणअनुसार सबैभन्दा बढी मानिस माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट हराइरहेका छन् ।

२१६ मेगावाट क्षमताको निर्माणाधीन उक्त आयोजनामा बाढी आउनुअघि एक हजार ४३३ जना कार्यरत थिए । त्यसमध्ये ८७८ जनाको उद्धार भए पनि ५४८ जना अझै सम्पर्कविहीन छन् । हराइरहेकामध्ये नौ जना कोरियन, ३४ जना चिनियाँ र ५० जना भारतीय नागरिक रहेको विवरण छ ।

सम्पर्कविहीनको खोजीका लागि आयोजनाको सुरुङ क्षेत्रमा नेपाली सेना, नेपाल ड्रोन एसोसिएसन, कोरियाली तथा शेर्पासहितको टोली परिचालन गरिएको छ । ड्रोनबाट समेत खोजी भइरहेको छ भने सुरुङभित्रको खोजीलाई तीव्र पारिएको इप्पानले जनाएको छ ।

रसुवागढीको विद्युत् गृहमा चार तला हिलोले भरियो

१११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाबाट पनि ९३ जना अझै सम्पर्कविहीन छन् । उनीहरू विद्युत् गृहमा फसेको हुनसक्ने आशंकामा खोजी गरिए पनि अहिलेसम्म कोही भेटिएका छैनन् ।

बाढीपछि विद्युत् गृहको चार तला र कन्ट्रोल रुमसम्म माटो, हिलो र लेदो भरिएको पाइएको छ । आयोजनाबाट सम्पर्कविहीन केही व्यक्तिको खोजी विद्युत् गृहबाहिर पनि भइरहेको छ ।

आफन्तको आग्रहमा ट्रेकिङ गाइड र शेर्पाको टोलीले बट्टेखोलादेखि टिमुरेसम्मको क्षेत्रमा समेत खोजी गरिरहेको छ ।

रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाबाट तीन जना अझै सम्पर्कविहीन छन् । हराएकामध्ये एक जनाको शव फेला परेको छ भने दुई चिनियाँ नागरिकसहित तीन जनाको अवस्था अझै अज्ञात रहेको विवरणमा उल्लेख छ । आयोजनाका पाँच जना भने सुरक्षित स्थानमा पुगेका छन् ।

सुरुङभित्र खोजी सकियो, दुई शवको डीएनए परीक्षण हुने

२० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ३९ जना अझै सम्पर्कविहीन छन् । सुरुङभित्र दुई जनाको शवसहित केही सामग्री फेला परे पनि बाँकीको अवस्था खुल्न सकेको छैन ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरेपछि सुरुङभित्र थप मानिस फसेको सम्भावना नरहेको निष्कर्षसहित खोजी कार्य समाप्त गरिएको छ । क्षतविक्षत अवस्थामा फेला परेका दुई शवको पहिचानका लागि डीएनए परीक्षण गर्ने तयारी गरिएको छ ।

माथिल्लो त्रिशूली–३ ‘बी’ मा पनि ठूलो क्षति

माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन् । फेवा कन्स्ट्रक्सनमा कार्यरत १४१ जनामध्ये १३ जना सम्पर्कमा आएपछि उक्त कम्पनीबाट सम्पर्कविहीनको संख्या १२८ मा झरेको छ ।

तर आयोजना सम्बद्ध कर्मचारी, परिवारका सदस्य, परामर्शदाता कम्पनीका कर्मचारी, सुरक्षागार्ड र काठमाडौं विश्वविद्यालयबाट इन्टर्नसिपका लागि आएका इन्जिनियरिङ विद्यार्थीसमेत जोड्दा आयोजनासँग सम्बन्धित १७८ जना अझै सम्पर्कविहीन रहेको इप्पानको विवरण छ ।

बाढीबाट त्रिशूली जलविद्युत् केन्द्र, देवीघाट जलविद्युत् केन्द्र र माथिल्लो त्रिशूली–३ ‘ए’ समेत पूर्ण रूपमा प्रभावित भएका छन् । त्रिशूली जलविद्युत् केन्द्रबाट तीन जना, देवीघाटबाट एक जना र माथिल्लो त्रिशूली–३ ‘ए’बाट ३९ जना सम्पर्कविहीन रहेको विवरण छ ।

भोटेकोशीको बाढीले विद्युत् उत्पादन र आयोजनाका पूर्वाधारमा मात्र क्षति पुर्‍याएको छैन, आयोजनास्थलमा कार्यरत श्रमिक तथा कर्मचारीको जीवनसमेत संकटमा पारेको छ । ९१९ जनाको अवस्था अझै अज्ञात रहनुले बाढीपछिको उद्धार र खोजी अभियानको सबैभन्दा ठूलो चुनौती मानवीय क्षतिको यकिन गर्नु बनेको छ ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार