१७ भदौ २०८३, बुधबार

पार्टीलाई फुट र विभाजनतर्फ धकेल्ने षड्यन्त्र’प्रति नेकपा (बहुमत) सचेत



काठमाडौ/ नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले पार्टीभित्र देखिएको विवाद, गुटगत गतिविधि तथा विभाजनको प्रयासप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। अध्यक्ष धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले जारी गरेको प्रेस वक्तव्यमार्फत पार्टीलाई फुट र विभाजनतर्फ धकेल्ने षड्यन्त्रप्रति सचेत रहन नेता तथा कार्यकर्तालाई अपिल गरिएको हो।

पार्टीका आन्तरिक वैचारिक, राजनीतिक र संगठनात्मक विषयमा बहस तथा छलफल चलिरहेका बेला केही व्यक्तिले त्यसलाई वैचारिक बहसको सीमाभन्दा बाहिर लगेर तोडमोड गर्ने र पार्टी विभाजन गराउने गतिविधि गरेको वक्तव्यमा उल्लेख छ।

नेकपा (बहुमत) ले नेपाली कम्युनिस्ट आन्दोलनमा देखिएका वैचारिक, राजनीतिक, आर्थिक तथा संगठनात्मक समस्याबारे लामो समयदेखि अध्ययन र बहस गर्दै आएको जनाएको छ। यही अध्ययन तथा बहसबाट प्राप्त निष्कर्षका आधारमा राष्ट्रिय सम्मेलनको तयारी भइरहेको पनि पार्टीले स्पष्ट पारेको छ।

पार्टीभित्र उत्पन्न विवादलाई वैचारिक बहसकै माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिँदै वक्तव्यमा तथ्य र तर्कमा आधारित छलफलबाट निष्कर्षमा पुग्नुपर्ने उल्लेख छ। वैज्ञानिक समाजवादी क्रान्तिको लक्ष्य हासिल गर्न पार्टीको एकता अपरिहार्य रहेको पार्टीको भनाइ छ।

यसअघि प्राकृतिक विपत्तिका कारण पार्टीले राष्ट्रिय सम्मेलन स्थगित गरेको थियो। रसुवाको भोटेकोशीसहित विभिन्न क्षेत्रमा आएको बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि सम्मेलन स्थगित गरी नेता तथा कार्यकर्तालाई उद्धार तथा राहतमा परिचालन गरिएको पार्टीले जनाएको छ।

विपद्का बेला समेत केही व्यक्तिले पार्टीको निर्णय, विधान र अनुशासनविपरीत गतिविधि गरेको आरोप पार्टीले लगाएको छ। नेतृत्वविरुद्ध कपोलकल्पित तथा अवाञ्छित गालीगलौज गर्ने, गलत अर्थ लाग्ने गरी प्रचार गर्ने र पार्टीका निर्णयविपरीत गतिविधि अघि बढाउने प्रयास भएको वक्तव्यमा दाबी गरिएको छ।

यस्ता गतिविधिले पार्टीभित्र भ्रम र विभाजनको अवस्था सिर्जना गर्न सक्ने भन्दै केन्द्रीय कार्यालयले पार्टी पंक्ति र आम जनतालाई त्यस्ता प्रचारबाट प्रभावित नहुन आग्रह गरेको छ।

पार्टीले राष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने विषयमा गम्भीर वैचारिक बहस, अध्ययन तथा अनुसन्धानमा सहभागी हुन नेता–कार्यकर्तालाई आह्वान गरेको छ। वैचारिक बहसलाई तार्किक निष्कर्षमा पुर्‍याउँदै क्रान्तिकारी आन्दोलनलाई सुदृढ बनाउन सबै तहका नेता–कार्यकर्ता एकताबद्ध हुनुपर्नेमा वक्तव्यले जोड दिएको छ।

यसअघि तयारी नपुगेको भन्दै नेकपा (बहुमत) ले असोज ५ देखि १० गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको थियो। तर पछिल्लो बाढीपहिरो तथा प्राकृतिक विपत्तिका कारण सम्मेलन स्थगित गरिएको र नयाँ मिति केन्द्रीय समितिको बैठकबाट तय गरिने पार्टीले जनाएको छ।

‘सबै पार्टी सदस्यहरू एकताबद्ध होऔँ’ भन्ने आह्वानसहित जारी वक्तव्यमा पार्टीको वैचारिक तथा संगठनात्मक एकता कायम राख्दै वैज्ञानिक समाजवादी क्रान्तिको दिशामा अघि बढ्न सबै नेता–कार्यकर्तालाई आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार