१७ भदौ २०८३, बुधबार

भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको ब्रिफिङ, १ हजार ११४ शव फेला



काठमाडौ/ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति, उद्धार तथा पछिल्लो अवस्थाबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन्।

विशेष जिम्मेवारीसहित संसद्को रोष्ट्रममा उभिएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले बाढीपछिको अवस्थाबारे सांसदहरूलाई जानकारी गराएका हुन्। उनले आफ्नो सम्बोधनको सुरुवातमै भने, ‘विशेष जिम्मेवारीसहित सार्वभौम संसद्को रोष्ट्रममा उभिएको छु ।’

भदौ १० गते बुधबार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटसहित धादिङ, चितवन तथा गोरखाका त्रिशूली नदी आसपासका क्षेत्र प्रभावित भएका छन्।

बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको छ।

बाढीपछि अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको सरकारी तथ्यांक छ। विपद्मा परी २९२ जना घाइते भएका छन् भने प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको प्रधानमन्त्री शाहले संसद्लाई जानकारी गराएका छन्।

भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि सरकारले खोज, उद्धार र राहत कार्यलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ। प्रधानमन्त्री शाहले संसद्मा दिएको पछिल्लो विवरणले विपद्को भयावह अवस्थासँगै उद्धार अभियानको प्रगतिबारे समेत जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार