१७ भदौ २०८३, बुधबार

बाढीपहिरोपीडितको सहारामा ‘नेशनल भोलेन्टियर फोर्स’, ६० स्वयंसेवक नुवाकोटमा



नुवाकोट / बाढीपहिरोका कारण प्रभावित नागरिकको राहत र उद्धारमा ‘नेशनल भोलेन्टियर फोर्स’ स्वयंसेवकसहित परिचालित भएको छ। फोर्सका केन्द्रीय अध्यक्ष पुष्प श्रेष्ठको नेतृत्वमा ६० जना स्वयंसेवकको टोली राहत सामग्रीसहित नुवाकोट पुगेको हो।

फोर्सका अनुसार टोलीले १० लाख रुपैयाँभन्दा बढी मूल्यका राहत सामग्री नुवाकोट ल्याएको छ। प्रभावित क्षेत्रको स्थलगत अवस्था र स्थानीय आवश्यकताको पहिचान गरी परिवारलाई राहत सामग्री वितरण गर्ने काम भइरहेको छ।

अध्यक्ष श्रेष्ठले तत्कालीन राहत वितरणसँगै प्रभावित नागरिकको दैनिक आवश्यकता सम्बोधन गर्ने गरी अभियान सञ्चालन गरिएको बताए। उनका अनुसार नुवाकोटको राहत तथा उद्धार अभियान सकेपछि टोली रसुवा जाने तयारीमा छ।

“विपद्का बेला भाषणभन्दा सहयोग र आश्वासनभन्दा हात आवश्यक हुन्छ,” श्रेष्ठले भने, “त्यसैले प्रभावित नागरिकको आवश्यकताअनुसार स्वयंसेवक परिचालन गरेका हौँ।”

बाढीपहिरोका कारण कतिपय परिवार घरबासविहीन भएका छन् भने कतिपयलाई खाद्यान्न, सुरक्षित बसोबास र आधारभूत सामग्रीको अभाव छ। यस्तो अवस्थामा फोर्सले प्रभावित क्षेत्रमा निःशुल्क खाना खुवाउने मेस सञ्चालन गर्ने तयारीसमेत गरेको छ।

श्रेष्ठका अनुसार राहत सामग्री वितरण गरेर मात्रै अभियानलाई सीमित नगरी आवश्यकताअनुसार प्रभावित क्षेत्रमा निरन्तर सहयोग गर्ने योजना छ। टोलीले स्थानीय तह, प्रहरी प्रशासन तथा सरकारका सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिरहेको जनाएको छ।

राहत तथा उद्धारको आवश्यकता पहिचान गर्न नेकपा (एमाले) नुवाकोट जिल्ला कमिटीसँग पनि सहकार्य भइरहेको फोर्सले जनाएको छ। टोलीमा फोर्सका अध्यक्ष श्रेष्ठसँगै एमाले केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ पनि सहभागी छन्।

कम्तीमा एक महिना मैदानमै

नेशनल भोलेन्टियर फोर्सले यसपटकको अभियानलाई औपचारिक भ्रमणमा सीमित नगरी दीर्घकालीन स्वयंसेवी अभियानका रूपमा अघि बढाउने जनाएको छ। प्रभावित क्षेत्रको अवस्था र आवश्यकताका आधारमा टोली कम्तीमा एक महिनाभन्दा बढी समय राहत, उद्धार, खाना व्यवस्थापन तथा अन्य सहयोगमा खटिने तयारीमा छ।

स्वयंसेवकहरूका अनुसार राज्यका उद्धार तथा राहत संयन्त्र सक्रिय भए पनि विपद्पछि प्रभावित परिवारको दैनिकी सामान्य बन्न अझै समय लाग्ने अवस्था छ। विशेषगरी खाद्यान्न, सुरक्षित बसोबास र अन्य आधारभूत आवश्यकताको व्यवस्थापन चुनौतीपूर्ण देखिएको उनीहरूको भनाइ छ।

“विपद्मा ज्यान गुमाएकाको सम्मानजनक व्यवस्थापन राज्यको दायित्व हो। तर बाँचेकाहरूको भोक, पीडा र असुरक्षालाई पनि उत्तिकै प्राथमिकतामा राख्नुपर्छ,” अभियानमा सहभागी स्वयंसेवकहरूले बताएका छन्।

एमालेको विपद् अभियानमा स्वयंसेवक थपिँदै

विपद् व्यवस्थापनका लागि नेकपा (एमाले) ले केन्द्रीय सचिव महेश बस्नेतको नेतृत्वमा विपद् व्यवस्थापन समिति गठन गरेको छ। समितिअन्तर्गत पार्टीका विभिन्न जनवर्गीय संगठनका स्वयंसेवक प्रभावित क्षेत्रमा परिचालित छन्।

अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालका स्वयंसेवकहरू पनि एक सातादेखि प्रभावित क्षेत्रमा उद्धार, राहत वितरण तथा व्यवस्थापनमा खटिएका छन्।

नेशनल भोलेन्टियर फोर्सको थप जनशक्ति र राहत सामग्री परिचालनसँगै एमालेसम्बद्ध स्वयंसेवी अभियान थप विस्तार हुने अपेक्षा गरिएको छ।

प्राकृतिक विपद्ले घर र भौतिक संरचना मात्रै क्षति पुर्‍याएको छैन, प्रभावित परिवारको दैनिकी र जीविकोपार्जनसमेत प्रभावित बनाएको छ। यही अवस्थालाई ध्यानमा राख्दै फोर्सले तत्कालीन राहतसँगै खाना, बसोबास र आवश्यक सहयोगलाई अभियानको प्राथमिकतामा राखेको जनाएको छ।

यो फोर्सको दोस्रो चरणको राहत तथा उद्धार अभियान हो। यसअघि पनि फोर्सले विभिन्न विपद् प्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरी राहत तथा उद्धारमा सहयोग गरेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार