भोटेकोशी बाढी जलवायु परिवर्तनकै परिणाम : प्रधानमन्त्री शाह
काठमाडौँ / प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी जलवायु परिवर्तनका कारण उत्पन्न भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण तापक्रम १.८ डिग्रीसम्म बढिसकेको तथ्यले यस्तो विपद्को जोखिम बढाएको उल्लेख गरेका छन्। उनका अनुसार भोटेकोशीमा आएको बाढी हिमालय क्षेत्रमा हिउँ–चट्टानको हिमपहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्तिमध्ये एक हुनसक्ने विज्ञहरूको निष्कर्ष छ।
प्रधानमन्त्री शाहले भनेका छन्, “हिउँ–चट्टान किन खस्यो ? यति धेरै पानी कसरी आयो ? भन्ने प्रश्नको जवाफ मानव सभ्यताले दिनैपर्छ।” जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो रूपमा प्रस्तुत हुनुपर्ने समय आएको उनको भनाइ छ।
उनका अनुसार हिमनदीभित्र पग्लिएको पानीका कारण हिमनदीको ठूलो भाग बरफ र पानीसहित उच्च स्थानबाट खसेको र त्यस क्रममा उत्पन्न ऊर्जाले थप बरफ पगाल्दै ठूलो बाढीको रूप लिएको हुनसक्छ। हिमालयबाट नेपालतर्फको भूभाग ओरालो हुँदै जाने भएकाले बाढीले बाटोमा थप क्षति पुर्याएको उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले अहिले सरकार खोज तथा उद्धारको चरणबाट पुनःस्थापनातर्फ अघि बढिरहेको जानकारी दिएका छन्। प्रभावित नागरिकको जीवनरक्षा, उपचार, स्वास्थ्य सेवा तथा मनोपरामर्शसँगै राहत वितरणलाई व्यवस्थित बनाइएको उनले बताएका छन्। नुवाकोटका १९ अस्थायी आश्रयस्थलमा दुई हजार ६५३ जनाले आश्रय तथा राहत पाइरहेका छन् भने रसुवाका प्रभावितलाई समेत नुवाकोटमा आश्रयको व्यवस्था गरिएको छ।
बाढीपछि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको प्रधानमन्त्री शाहले बताएका छन्। भारतले ६८.५ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराउनुका साथै ११ सदस्यीय उद्धार टोली नेपाल पठाएको छ। पाकिस्तानबाट ८६ टन राहत सामग्री आउने क्रममा छ भने श्रीलङ्काले १० लाख अमेरिकी डलर बराबर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। बङ्गलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ।
चीनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० करोड रुपैयाँ सहयोग गर्नुका साथै ५० टन राहत सामग्री उपलब्ध गराएको छ। चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा परिचालित छ। प्रभावित क्षेत्रका लागि नेपालले चीनसँग ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ।
त्यस्तै, अमेरिकाले पाँच लाख र अष्ट्रेलियाले १० लाख अमेरिकी डलर नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। यूएईले ८३ टन राहत सामग्री उपलब्ध गराइसकेको तथा थप १० मिलियन डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
कतार, स्विट्जरल्यान्ड, युरोपेली सङ्घ, संयुक्त राष्ट्रसङ्घलगायतबाट पनि सहयोग प्राप्त भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। एसियाली विकास बैंकले पाँच मिलियन अमेरिकी डलर बजेटरी अनुदान तथा एक लाख ५० हजार अमेरिकी डलर प्राविधिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। विश्व बैंकले १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। युके, जापानलगायत मित्रराष्ट्रबाट पनि सहयोगको प्रतिबद्धता आएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।




