बाढीपीडितका लागि राहत कोषमा छ अर्ब ३६ करोडभन्दा बढी जम्मा
काठमाडौं / रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बाढीपीडितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ठूलो मात्रामा रकम जम्मा भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विवरणअनुसार सोमबार दिउँसोसम्म राहत कोषमा छ अर्ब ३६ करोड ५५ लाख ८५ हजार रुपैयाँभन्दा बढी जम्मा भएको हो ।
प्रधानमन्त्री शाहका अनुसार नौ वटा वाणिज्य बैंकमा रहेका राहत कोषका खातामा मात्रै पाँच अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ ।
त्यसैगरी, हिमालय बैंक र लक्ष्मी सनराइज बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको छ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विनिमय दरअनुसार सो विदेशी मुद्रा करिब ४८ करोड ६३ लाख ६२ हजार ८० रुपैयाँ बराबर हुन्छ ।
बैंक खातामा जम्मा भएको नेपाली रकम र अमेरिकी डलरलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा राहत कोषमा संकलित कुल रकम छ अर्ब ३६ करोड ५५ लाख ८५ हजार रुपैयाँभन्दा बढी पुगेको प्रधानमन्त्री शाहले जनाएका छन् ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउँदै आएको छ । पछिल्लो समय विभिन्न व्यक्ति, संस्था, व्यवसायी तथा संघसंस्थाले राहत कोषमा आर्थिक सहयोग गर्ने क्रम बढेको छ ।




