नेकपा बहुमतको राष्ट्रिय सम्मेलन स्थगित, राहत तथा उद्धारमा जुट्न निर्देशन
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले रसुवाको भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित जनताको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टी अध्यक्ष कञ्चनले आइतबार जारी गरेको प्रेस वक्तव्यमा बाढीबाट ठूलो जनधनको क्षति भएको र प्रभावित क्षेत्रमा आगामी दिनमा झाडापखाला तथा संक्रामक रोग फैलिन सक्ने जोखिम रहेको भन्दै तत्काल राहत तथा स्वास्थ्य सेवामा ध्यान दिन आग्रह गरिएको छ।
पार्टीले आसन्न असोज ५ गतेदेखि हुने भनिएको राष्ट्रिय सम्मेलन स्थगित गरेको जनाएको छ। सम्मेलनका लागि पार्टीभित्र सञ्चालन भइरहेका तयारी तथा कार्यक्रमसमेत स्थगित गरी विपद्मा परेका जनताको उद्धार, राहत र सहयोगमा सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिइएको छ।
त्यस्तै, विपद्पीडितका लागि काठमाडौं उपत्यकामा विद्यार्थी, युवा, मजदुर, महिलालगायत जनवर्गीय संगठनमार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्न पनि पार्टीले निर्देशन दिएको छ। राष्ट्रिय सम्मेलन स्थगित गरिएको विषयमा पार्टीको केन्द्रीय समिति बैठकले उपयुक्त समयमा नयाँ मिति निर्धारण गर्ने बताइएको छ।
बाढीले बगाएर ल्याएका शव पहिचान हुन नसकेको अवस्थामा सरकारले सामूहिक रूपमा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएकोप्रति पनि पार्टीले ध्यानाकर्षण गराएको छ। विदेशमा रहेका आफन्तले आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी पाउन नसकेको अवस्थामा सम्बन्धित पक्षलाई संवेदनशील बन्न र पीडित परिवारलाई उचित तथा सन्तोषजनक सूचना उपलब्ध गराउन आग्रह गरिएको छ।
पार्टीले बाढीका कारण रोजगारी, स्वरोजगार तथा पर्यटनलगायत क्षेत्रमा संलग्न ठूलो जनसंख्या प्रभावित भएको भन्दै प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय सरकारलाई आफ्नो क्षेत्रबाट उद्धार गरिएका तथा प्रभावित व्यक्तिको अवस्थाबारे दैनिक रूपमा सार्वजनिक जानकारी दिन माग गरेको छ।
वक्तव्यमा नेपालको भौगोलिक अवस्थाका कारण हिमालमा हिमपहिरो, पहाडमा भूकम्प तथा पहिरो र तराईमा बाढी तथा डुबानजस्ता प्राकृतिक विपद् दोहोरिँदै आएको उल्लेख गर्दै विपद् आएपछि मात्र उद्धार तथा राहतमा केन्द्रित हुने प्रवृत्तिको दीर्घकालीन समाधान खोज्न सरकारसँग माग गरिएको छ।
पार्टीले दीर्घकालीन रूपमा विपद् प्रभावित क्षेत्रका जनताको सुरक्षित पुनःस्थापना र बसोबासका लागि जोखिमयुक्त क्षेत्रको पहिचान गरी भिर, पहिरो, बाढी, भूकम्प प्रभावित क्षेत्र, खोला तथा नदी कटान क्षेत्रभन्दा टाढा वैज्ञानिक र व्यवस्थित बस्ती विकास गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
वक्तव्यमा विपद्को पीडामा रहेका जनताको उद्धार तथा राहतका लागि पार्टीका सम्पूर्ण सदस्यलाई परिचालन हुन निर्देशन दिँदै प्रभावित जनताप्रति ऐक्यबद्धता व्यक्त गरिएको छ।




