१४ भदौ २०८३, आइतबार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन



काठमाडौं /रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सूचना तथा सञ्चार सम्पर्कलाई सहज बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले २० थान स्याटेलाइट फोन उपलब्ध गराएको छ।

विपद्का समयमा दूरसञ्चार सेवा अवरुद्ध हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै प्राधिकरणले अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) बाट विपद् सहयोगस्वरूप प्राप्त गरेका ती फोन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण गरेको हो।

उपलब्ध गराइएका २० थान स्याटेलाइट फोनमध्ये १० थान रसुवा र १० थान नुवाकोटमा प्रयोग हुने गरी पठाइएको छ। यी फोनहरू आगामी तीन महिनासम्म निःशुल्क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

सामान्य मोबाइल तथा टेलिकम नेटवर्कको पहुँच नपुगेका दुर्गम क्षेत्रमा समेत स्याटेलाइटको माध्यमबाट फोन र एसएमएस सेवा सञ्चालन गर्न सकिने भएकाले विपद्का बेला यसको उपयोग महत्वपूर्ण मानिन्छ।

बाढी तथा पहिरोका कारण कतिपय क्षेत्रमा सञ्चार सम्पर्क विच्छेद भएको अवस्थामा स्याटेलाइट फोनमार्फत उद्धार टोली, सुरक्षाकर्मी तथा सम्बन्धित निकायबीच सूचना आदानप्रदान सहज हुने अपेक्षा गरिएको छ।

विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सञ्चार सम्पर्कलाई निरन्तरता दिनु अत्यावश्यक रहेकाले स्याटेलाइट फोनको प्रयोगले तत्काल सूचना प्रवाह र समन्वयमा सहयोग पुग्ने विश्वास गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार