श्रम संस्कृतिको आरोप : पूर्व सचिव भीम उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए
काठमाडौं/ श्रम संस्कृति पार्टीले पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो फेसबुकमार्फत पार्टीको बैंक खातासँग सम्बन्धित क्युआर कोड तोडमोड गरी बदनाम गरेको आरोप श्रम संस्कृति पार्टीले लगाएको छ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका नाममा पार्टीले रकम संकलन गरिरहेको भन्ने भ्रमपूर्ण सूचना सम्प्रेषण गरेको आरोप उपाध्यायमाथि लगाइएको हो।
पार्टीका महासचिव आरेन राईले विज्ञप्ति जारी गर्दै उपाध्यायले सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरेको सूचना तथ्यहीन, भ्रामक तथा वास्तविकताभन्दा फरक रहेको स्पष्ट पारेका छन्।
श्रम संस्कृति पार्टीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’को नाममा आफ्नो पार्टीको बैंक खाताको क्युआर कोडमार्फत रकम संकलन गरेको भन्ने आरोपको स्पष्ट रूपमा खण्डन गरेको छ।
पार्टीले आम नागरिक तथा आफ्ना शुभेच्छुकलाई त्यस्ता भ्रामक सूचनाबाट भ्रमित नहुन आग्रह गरेको छ।
विज्ञप्तिमा पूर्वसचिव उपाध्यायले पार्टीविरुद्ध तथ्यहीन तथा भ्रामक सूचना निरन्तर रूपमा सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएको दाबीसमेत गरिएको छ।
यस्ता गतिविधिबाट पार्टीको प्रतिष्ठामा असर पार्ने र जनमानसमा भ्रम सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
श्रम संस्कृति पार्टीले घटनाबारे आवश्यक कदम चाल्ने चेतावनीसमेत दिएको छ। अहिले राहत कोषको क्युआर श्रम संस्कृति र राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा पनि बनाएर ठगी भइरहेको गुनासो आएको छ।




