त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाको उद्धारका लागि तीव्र प्रयास
काठमाडौं / रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि सुरक्षा निकायको संयुक्त टोलीले प्रयास तीव्र बनाएको छ।
बाढीपछि सुरुङको प्रवेशद्वार लेदो, ढुंगा तथा भग्नावशेषले पुरिएपछि उद्धारमा चुनौती थपिएको हो। सुरुङसम्म पुग्ने बाटो खुलाउन एक्साभेटरसहितका उपकरण प्रयोग गरी थुप्रिएको लेदो र भग्नावशेष हटाउने काम भइरहेको छ।
नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी उद्धारलाई उच्च प्राथमिकता दिँदै घटनास्थलमा खटिएका छन्। प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बीच सुरुङको प्रवेशद्वार खुलाएर भित्र प्रवेश गर्ने प्रयास भइरहेको छ।
उद्धार टोलीले चरणबद्ध रूपमा लेदो र भग्नावशेष हटाउँदै सुरुङको मुखसम्म पुग्ने बाटो बनाइरहेको छ। प्रवेशद्वार पूर्ण रूपमा खुलेपछि सुरुङभित्र प्रवेश गरी फसेका मानिसको खोजी तथा उद्धार अघि बढाइने जनाइएको छ।
बाढीका कारण ठूलो मात्रामा लेदो तथा भग्नावशेष थुप्रिएकाले उद्धार कार्य अपेक्षाकृत कठिन बनेको छ। यद्यपि उद्धार टोलीले उपकरणसहित निरन्तर काम गरिरहेको र सुरुङको प्रवेशद्वार खोल्न सक्दो प्रयास भइरहेको छ।




