नेपालका बाढीपीडितलाई अष्ट्रेलियाको ५० मिलियन डलर सहयोग
क्यानबेरा / नेपालमा हालै आएको विनाशकारी बाढीप्रति दुःख व्यक्त गर्दै अष्ट्रेलिया सरकारले प्रभावित समुदायका लागि ५० लाख अष्ट्रेलियन डलर बराबरको मानवीय सहायता घोषणा गरेको छ।
अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वङले घोषणा गरेको उक्त सहयोग खाद्यान्न, आपत्कालीन आश्रय, स्वच्छ खानेपानी तथा सरसफाइजस्ता अत्यावश्यक क्षेत्रमा खर्च गरिने जनाइएको छ। सहयोग स्थापित साझेदार संस्थामार्फत प्रभावित समुदायसम्म पुर्याइनेछ।
अष्ट्रेलियाको सहयोगअन्तर्गत २० लाख डलर विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई उपलब्ध गराइनेछ। उक्त रकमबाट खाद्यान्न तथा नेपालको आपत्कालीन प्रतिकार्यका लागि आवश्यक लजिस्टिक सहयोग गरिनेछ।
त्यस्तै, अर्को २० लाख डलर अष्ट्रेलियन ह्युमेनिटेरियन पार्टनरसिपमार्फत अष्ट्रेलियाली गैरसरकारी संस्थाहरूलाई दिइनेछ। त्यसबाट आपत्कालीन आश्रय, सरसफाइ सामग्री, कम्बल, स्वास्थ्य सेवा तथा मनोसामाजिक सहयोग उपलब्ध गराइने पत्रमा उल्लेख छ।
बाँकी १० लाख डलर इमर्जेन्सी एक्सन एलायन्समार्फत प्रभावित क्षेत्रमा स्थानीयस्तरबाट सञ्चालन हुने पुनःस्थापना तथा पुनर्निर्माणका काममा प्रयोग गरिनेछ।
अष्ट्रेलियाको राजधानी क्यानबेराका नेपाली तथा तिब्बती समुदायलाई सम्बोधन गर्दै अष्ट्रेलियाली सांसद क्याटी गालाघरले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गरेकी छन्। उनले प्रभावित क्षेत्रमा आफन्त गुमाएकाहरू तथा अझै सम्पर्कविहीन रहेका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गरेकी छन्।
गालाघरका अनुसार नेपालमा रहेका ३९ जना अष्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको जानकारी अष्ट्रेलियाली अधिकारीहरूले पाएका छन्। काठमाडौंमा रहेका अष्ट्रेलियाली कन्सुलर कर्मचारीले उनीहरूको अवस्था पत्ता लगाउने तथा पुष्टि गर्ने काम गरिरहेका छन्। मानवीय सहायता विशेषज्ञहरू पनि आगामी दिनमा नेपाल आउने तयारीमा रहेको उनले बताएकी छन्।
उनले क्यानबेरामा रहेका नेपाली समुदायसँग अष्ट्रेलिया साथमा रहेको बताउँदै आवश्यक सहयोगका लागि आफ्नो कार्यालयसँग सम्पर्क गर्न आग्रह गरेकी छन्।
गालाघरले २८ अगस्ट २०२६ मा जारी गरेको पत्रमा नेपाल र तिब्बतमा आएको विनाशकारी आकस्मिक बाढीप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नेपाली तथा तिब्बती समुदायप्रति ऐक्यबद्धता जनाएकी हुन्।




