ताल फुट्ने जोखिमपछि तिब्बतमा उद्धार रोकियो, टोलीलाई एक किलोमिटर पछाडि हट्न निर्देशन
काठमाडौं / चीन–नेपाल सीमावर्ती तिब्बतको केरुङ क्षेत्रमा पहिरोले बनाएको ताल फुट्ने जोखिम बढेपछि चीनले उद्धार तथा राहत अभियान अस्थायी रूपमा रोकेको छ।
चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार पहिरोबाट बनेको तालमा पानीको सतह निरन्तर बढ्दै गएपछि उद्धारमा खटिएका टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर पछाडि सुरक्षित स्थानमा जान निर्देशन दिइएको हो। उद्धार टोलीलाई तत्कालका लागि ‘स्ट्यान्डबाई’ अवस्थामा रहँदै थप निर्देशन पर्खन भनिएको छ।
बुधबार केरुङ क्षेत्रमा ठूलो पहिरो खसेपछि माटो, ढुंगा र अन्य भग्नावशेष थुप्रिएर ताल बनेको थियो। पहिरोपछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको बताइएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार लगातार भइरहेको वर्षाका कारण तालमा थप पानी जम्मा हुने क्रम जारी छ। आगामी तीन दिनसम्म जलस्तर बढ्न सक्ने र सेप्टेम्बर १ अर्थात् भदौ १६ आसपास तालको पानी उच्च बिन्दुमा पुग्ने अनुमान गरिएको छ।
तालको जलस्तर बढ्दै गएपछि बाँधजस्तो बनेको प्राकृतिक संरचना फुट्न सक्ने जोखिम बढेको अधिकारीहरूले बताएका छन्। ताल फुटेमा ठूलो परिमाणमा पानी तल्लो क्षेत्रमा बग्न सक्ने भएकाले केरुङ बन्दरगाहसहित आसपासका बस्ती तथा संरचनामा थप क्षति पुग्न सक्ने चेतावनी दिइएको छ।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले पनि ताल फुटेमा तल्लो तटीय क्षेत्रमा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको जनाएको छ।
जोखिम बढेपछि उद्धारमा खटिएका टोलीलाई पछि हटाइएको र अवस्था अनुकूल भएपछि मात्रै पुनः उद्धार अभियान सञ्चालन गरिने संकेत चिनियाँ सञ्चारमाध्यमले गरेका छन्। घटनास्थलको अवस्था र तालको जलस्तरलाई चिनियाँ अधिकारीहरूले निरन्तर निगरानी गरिरहेका छन्।




