१२ भदौ २०८३, शुक्रबार

‘सामाजिक सञ्जालमा होइन, मैदानमा सरकार देखिनुपर्छ’ : अध्यक्ष अर्याल



काठमाडौं / रसुवाको भोटेकोसीमा आएको भीषण बाढीपछि उद्धार, राहत र शव व्यवस्थापनमा ढिलाइ भएको भन्दै उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालले संघीय सरकारप्रति तीव्र असन्तुष्टि जनाएका छन्।

बाढीपछि आफूले भोगेको अवस्थालाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै अर्यालले ‘संघीय सरकार आकाशमा र सामाजिक सञ्जालमा मात्रै देखिन्छ’ भन्दै आक्रोश पोखेका हुन्।

उनका अनुसार सहकारी कार्यालयको ब्याकअपबाट मोबाइल चार्ज गरेर सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोस्ट देखिएको थियो। तर, विपद्को मैदानमा भने सरकारको उपस्थिति अनुभूति गर्न नसकिएको उनको भनाइ छ।

गम्भीर घाइतेको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित निकायसम्म समन्वय गरेर हेलिकप्टर माग्दा पनि समयमा सुनुवाइ नभएको उनले बताएका छन्। उद्धारमा ढिलाइ हुँदा घाइतेलाई कालिकास्थान, जिवजिवे हुँदै करिब १० घण्टापछि मात्रै धुञ्चेस्थित अस्पताल पुर्‍याउनुपर्ने अवस्था आएको उनको दाबी छ।

अर्यालले बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापनको अवस्था झन् भयावह बन्दै गएको बताएका छन्। उनका अनुसार नदी किनारमा अझै पचासौँ शव रहेका छन् र शव सड्न थालेपछि प्रभावित बस्तीमा दुर्गन्ध फैलिन थालेको छ। तत्काल शव व्यवस्थापन नगरिए संक्रमणको जोखिम बढ्न सक्ने भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

बाढीपछि केही सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएपछि आफूलाई गृहमन्त्रीको सचिवालयबाट धम्कीपूर्ण फोन आएको दाबीसमेत अर्यालले गरेका छन्। ‘नकारात्मक प्रचार नगर्नुहोला, राजनीति नगरिदिनुहोला’ भन्दै आफूलाई थर्काइएको उनले बताएका छन्।

त्यसको जवाफमा आफूले ‘हामीले यस्तो आवाज उठाउन नपर्ने स्थिति सिर्जना गर्नुस्, हामी सरकार भएको अनुभूति गर्नेछौँ’ भनेको अर्यालले उल्लेख गरेका छन्।

अर्यालले संघीय सरकारको आलोचना मात्रै गरेका छैनन्, आफू आबद्ध नेकपा एमालेको नेतृत्वप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्। आफू एमालेसँग आबद्ध रहेको र दुईपटक पार्टीको केन्द्रीय सदस्य भइसकेको उल्लेख गर्दै उनले विपद्का बेला सामाजिक सञ्जालमा बैठक र गतिविधि देखाएर मात्रै जनताको समस्या समाधान नहुने बताएका छन्।

एमालेको आकस्मिक सचिवालय बैठकसम्बन्धी समाचार सामाजिक सञ्जालमा देखेको उल्लेख गर्दै उनले ‘परिणामविहीन सामाजिक सञ्जाल रङ्ग्याउने काम नगरौँ’ भनेका छन्।

उनको भनाइमा विपद्को समयमा राजनीतिक गतिविधिभन्दा जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी राहत, उद्धार र व्यवस्थापनमा सरकार केन्द्रित हुनुपर्छ।

‘यसले पीडितलाई थप पीडा दिनेछ। के गर्न सकिन्छ, मैदानमा नै जनताले अनुभूति गर्ने गरी गरौँ। नेकपा एमालेको संस्कार र संस्कृति यही हो,’ अर्यालले भनेका छन्।

संघीय सरकारप्रति उनको मुख्य प्रश्न भने एउटै छ—अहिले सामाजिक सञ्जालमा देखिने सरकार होइन, मैदानमा जनताले अनुभूति गर्ने सरकार चाहिएको छ।’


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार