चीन–भारत सीमा विवादमा ८ बुँदे सहमति , तनाव घटाउनेदेखि कैलाश–मानसरोवरसम्म सहकार्य
काठमाडौं / चीन र भारतबीच लामो समयदेखि जटिल बन्दै आएको सीमा विवाद समाधानका लागि दुवै पक्षले संवाद र सहकार्यलाई अघि बढाउने गरी आठ बुँदे सहमति गरेका छन्। सहमतिमा सीमा क्षेत्रमा शान्ति कायम गर्ने, वास्तविक नियन्त्रण रेखा सम्बन्धी बुझाइ स्पष्ट पार्ने, सैन्य सम्पर्क संयन्त्र विस्तार गर्ने तथा सीमा विवादको दीर्घकालीन समाधान खोज्ने विषयलाई प्राथमिकता दिइएको छ।
सहमतिले दुई देशबीचको सीमा तनाव व्यवस्थापनसँगै कैलाश–मानसरोवर तीर्थयात्रा, सीमापार व्यापार र नदीसम्बन्धी विषयमा समेत सहकार्य बढाउने संकेत गरेको बेजिंगमा पत्रकारिता गर्ने लक्ष्मी पौडेलले उल्लेसखित सहमतिका बुँदा आफ्नो सामाजिक सञ्जाल फेसबूकबाट सार्वजनिक गरेका छन् ।
१-शान्ति र सुरक्षालाई प्राथमिकता
दुवै देशका राष्ट्रप्रमुखबीच भएका साझा सहमतिलाई मार्गदर्शक मान्दै सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा कायम राख्ने प्रतिबद्धता जनाइएको छ। साथै, चीन–भारत सम्बन्धको स्वस्थ र स्थायी विकासका लागि अनुकूल वातावरण निर्माण गर्ने सहमति भएको छ।
२-सीमा समाधानको ढाँचामा वार्ता
सन् २००५ मा भएको ‘चीन–भारत सीमा मुद्दा समाधानका लागि राजनीतिक मार्गदर्शक सिद्धान्त सम्झौता’ तथा विशेष प्रतिनिधिस्तरीय बैठकबाट भएका सहमतिका आधारमा सीमा विवाद समाधानको ढाँचाबारे वार्ता अघि बढाइने भएको छ। दुवै पक्षले न्यायोचित र पारस्परिक रूपमा स्वीकार्य समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्।
३- दुई नयाँ कार्य समूह‘
चीन–भारत सीमा मामिला परामर्श तथा समन्वय कार्यविधि’ अन्तर्गत सीमा निर्धारण विज्ञ समूह र सीमा नियन्त्रण कार्य समूह गठन गरिने भएको छ। यी समूहले आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्र स्पष्ट गर्दै सीमा व्यवस्थापनमा सहजीकरण गर्नेछन्।
४-सीमामा समस्या आए तत्काल संवाद
सीमामा उत्पन्न हुन सक्ने कुनै पनि अवस्थालाई परामर्श तथा समन्वय संयन्त्र, स्थानीय कमाण्डरस्तरीय वार्ता तथा अन्य सहमत माध्यमबाट समयमै सम्बोधन गर्ने सहमति भएको छ। साथै, वास्तविक नियन्त्रण रेखाबारे दुवै पक्षको बुझाइलाई अझ स्पष्ट पारेर गलत बुझाइ र अनावश्यक तनाव रोक्ने लक्ष्य राखिएको छ।
५-सैन्य सम्पर्क संयन्त्र विस्तार
सीमा नियन्त्रण तथा तनाव व्यवस्थापनलाई थप प्रभावकारी बनाउन दुईवटा नयाँ जनरलस्तरीय वार्ता केन्द्र स्थापना गरिने भएको छ। पूर्वी र मध्य सीमा क्षेत्रमा दुई थप सैन्य सम्पर्क हटलाइनसमेत स्थापना गरिने सहमति भएको छ।
६-कैलाश–मानसरोवर र सीमापार व्यापारमा सहकार्य
दुवै पक्षले सीमापार सहकार्यमा भएको प्रगतिप्रति सकारात्मक मूल्याङ्कन गरेका छन्। भारतीय पक्षले भारतीय आधिकारिक तीर्थयात्रीलाई तिब्बतस्थित कैलाश पर्वत र मानसरोवर तालको यात्राका लागि चीनले गरेको प्रयासको प्रशंसा गरेको छ।
त्यसैगरी, तीनवटा सीमापार व्यापार बजार पुनः सञ्चालन भएकोमा दुवै पक्षले सन्तोष व्यक्त गरेका छन्। यसलाई सीमा क्षेत्रमा संवाद, शान्ति, वार्ता र सहकार्यको वातावरण निर्माण गर्ने महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
७-सीमापार नदीबारे सेप्टेम्बरमा बैठक
सीमापार नदीसम्बन्धी विज्ञस्तरीय संयन्त्रको नयाँ बैठक आगामी सेप्टेम्बरमा आयोजना गरिने भएको छ। बैठकमा नदीको जलस्तरसम्बन्धी सूचना आदानप्रदान तथा सम्बन्धित सम्झौता नवीकरणका विषयमा छलफल गरिनेछ।
८-२०२७ मा भारतमा विशेष प्रतिनिधि बैठक
दुवै देशले सन् २०२७ मा भारतमा २६औँ विशेष प्रतिनिधिस्तरीय बैठक आयोजना गर्ने सहमति गरेका छन्।
चीन र भारतबीचको सीमा विवाद दशकौँदेखि दुई देशको सम्बन्धमा संवेदनशील विषय रहँदै आएको छ। पछिल्लो आठ बुँदे सहमतिले तत्काल सीमा विवादको अन्तिम समाधानभन्दा पनि सीमामा तनाव नबढाउने, सैन्य तथा कूटनीतिक संवादलाई संस्थागत बनाउने र दीर्घकालीन समाधानका लागि वार्ता अघि बढाउने दिशामा दुवै पक्ष अघि बढ्न खोजेको देखाएको छ।




