रसुवागढी बाढीबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक
काठमाडौं / सिंहदरबारमा रसुवागढी बाढीबाट भएको क्षति, उद्धार तथा राहत व्यवस्थापनबारे छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बैठक बसेको हो। बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी छन्।
बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन तथा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलगायत सहभागी छन्।
बुधबार तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो जनधनको क्षति भएको छ। भोटेकोशी र त्रिशूली नदी आसपासका बस्ती प्रभावित भएका छन् भने बेपत्ता भएकाहरूको खोजी तथा उद्धार जारी छ।
बैठकमा तत्काल उद्धार तथा राहतलाई प्रभावकारी बनाउने, प्रभावित नागरिकको पुनर्स्थापना गर्ने र आगामी दिनमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी तथा दीर्घकालीन नीति बनाउने विषयमा छलफल भइरहेको छ।
यसअघि पनि विभिन्न राजनीतिक दलहरूले बाढीपहिरोजस्ता विपद्का बेला सरकारसँग समन्वय गर्दै उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाउँदै आएका छन्।




