रसुवागढी बाढीबारे फैलिएका दाबी असत्य : चिनियाँ दूतावास
काठमाडौ/ काठमाडौँस्थित चिनियाँ दूतावासले रसुवागढी–ग्याइरोङ सीमा क्षेत्रमा आएको बाढी र पहिरोबारे सामाजिक सञ्जालमा फैलिएका केही दाबी र समाचार भ्रामक भएको जनाएको छ। दूतावासले चीनका कारण नेपालतर्फ क्षति भएको भन्ने प्रचारको खण्डन गर्दै त्यस्ता दाबीलाई ‘फेक न्युज’ भनेको हो।
चीनले समयमै पूर्वसूचना नदिएका कारण नेपालतर्फ ठूलो जनधनको क्षति भएको तथा चिनियाँ क्षेत्रमा रहेको पूर्वाधार वा बाँध फुट्दा बाढी आएको भन्ने दाबीमा कुनै सत्यता नभएको दूतावासले स्पष्ट पारेको छ।
दूतावासका अनुसार अगस्ट २६ अर्थात् भदौ १० गते बिहान नेपालतर्फ भूकम्प वा भूकम्पजस्तो हिमपहिरोका कारण ठूलो मात्रामा लेदो र पहिरो खसेको थियो। त्यसबाट आएको विनाशकारी पहिरोले ग्याइरोङ–रसुवागढी सीमा क्षेत्रका नेपाल र चीन दुवैतर्फ ठूलो क्षति पुगेको तथा धेरै नागरिक सम्पर्कविहीन भएको दूतावासले जनाएको छ।
विपद्को समयमा आरोप–प्रत्यारोपले समस्या समाधान नगर्ने भन्दै दूतावासले दुवै देशका सीमावर्ती क्षेत्रमा खोज, उद्धार र राहतलाई प्रभावकारी बनाउन आपसी समन्वय र सहयोग आवश्यक रहेकोमा जोड दिएको छ।
“आरोपले केही हल गर्दैन, सहकार्यले मात्र जीवन बचाउँछ,” दूतावासले सामाजिक सञ्जालमार्फत भनेको छ।
दूतावासले विपद्को कठिन अवस्थामा तथ्यमा आधारित सूचना प्रवाह गर्न र उद्धार तथा राहत कार्यमा नेपाल–चीनबीच सहकार्यलाई प्राथमिकता दिन आग्रह गरेको छ।





