१० भदौ २०८३, बुधबार

प्रधानमन्त्रीले भने रातभर खोज तथा उद्धार जारी रहन्छ



काठमाडौं / प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको बताएका छन्।

प्रधानमन्त्री शाहले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत बाढीबाट हालसम्म ५० भन्दा बढी नागरिकको मृत्यु भएको जानकारी प्राप्त भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

उनका अनुसार बाढीपछि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीलाई तत्काल प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। नेपाली सेनाको हेलिकप्टरमार्फत हालसम्म २५० नागरिकको उद्धार गरिएको र घाइतेहरूलाई काठमाडौं ल्याएर उपचार सुरु गरिएको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले अहिले सरकारको पहिलो प्राथमिकता घाइतेको ज्यान जोगाउने, बेपत्ताको खोजी गर्ने र प्रभावित नागरिकलाई सुरक्षित राख्ने रहेको उल्लेख गरेका छन्। घाइतेको निःशुल्क उपचारका लागि वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० शय्या छुट्याइएको तथा उपत्यकाका अन्य ठूला अस्पताललाई समेत तयारी अवस्थामा राखिएको उनले बताएका छन्।

प्रभावित क्षेत्रमा मेडिकल टोली खटाइएको छ भने राष्ट्रिय ट्रमा सेन्टर तथा सुरक्षा निकायबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली पठाइएको प्रधानमन्त्रीको भनाइ छ। नेपाल स्काउट, विश्व स्वास्थ्य संगठनलगायत निकायबाट चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्रीसमेत प्रभावित क्षेत्रमा पठाइएको उनले जानकारी दिएका छन्।

औषधी, रगत र आपत्कालीन स्वास्थ्य सेवाको अभाव हुन नदिन रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटसँग समन्वय भइरहेको शाहले बताएका छन्।

प्रधानमन्त्रीका अनुसार नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेक तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन्। ती क्षेत्रमा खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तत्काल पुर्‍याइने उनले बताएका छन्।

बाढीमा बेपत्ता नागरिकको खोजी रातभर जारी राखिने र घाइते तथा क्षतिको विस्तृत विवरण संकलन गरिने शाहले बताएका छन्। भत्किएका सडक, पुल, विद्युत् र खानेपानीका संरचनाको पुनर्निर्माण तथा विस्थापित परिवारको सुरक्षित पुनःस्थापनालाई पनि प्राथमिकता दिइने उनले उल्लेख गरेका छन्।

प्रधानमन्त्री शाहले विपद्को यस घडीमा सामाजिक संघसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक तथा आम नागरिकलाई सरकारी राहत तथा उद्धार अभियानमा सहयोग गर्नसमेत आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार