४ भदौ २०८३, बिहिबार

सातै प्रदेशमा एमाले इतर पक्षको ‘पार्टी पुनर्निर्माण महाभियान’



काठमाडौं / नेकपा (एमाले)को संस्थापन इतर पक्षले सातै प्रदेशमा ‘पार्टी पुनर्निर्माण महाभियान’ सञ्चालन गर्ने तयारी थालेको छ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्व हस्तान्तरणको पक्षमा नदेखिएपछि इतर पक्षले प्रदेशस्तरीय भेला र छलफलमार्फत पार्टी पुनर्गठनका लागि दबाब बढाउने तयारी गरेको हो।

अभियानको सुरुवात बागमती प्रदेशबाट गर्ने तयारी छ। त्यसपछि क्रमशः अन्य प्रदेशमा पनि भेला आयोजना गर्ने योजना बनाइएको छ। भेलामा महाधिवेशन प्रतिनिधि, प्रदेशका अगुवा नेता–कार्यकर्ता तथा अध्यक्षबाहेकका वरिष्ठ नेताहरूलाई सहभागी गराउने तयारी छ।

इतर पक्षले पुनर्गठन कार्यदलको प्रतिवेदन पार्टीको संस्थागत प्रक्रियाबाटै छलफल गर्नुपर्ने माग गरिरहेको छ। यस विषयमा एमाले सचिवालयमा ओली पक्ष अल्पमतमा रहेको इतर पक्षका नेताहरूको दाबी छ।

पार्टी पुनर्गठनको माग गर्ने नेताहरूलाई ओलीले ‘आवारा’ र ‘किर्ना’जस्ता शब्द प्रयोग गरेपछि विवाद थप चर्किएको छ। इतर पक्षले भने पार्टीलाई पुनर्निर्माण गर्न अभियानमार्फत दबाब सिर्जना गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार