प्रधानमन्त्री शाहसँग भारतीय स्थल सेनाध्यक्ष सेठको शिष्टाचार भेट
काठमाडौं/ प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटमा प्रधानमन्त्री शाह र सेनाध्यक्ष सेठबीच दुई देशबीचको आपसी सम्बन्ध तथा सैन्य सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ । भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए ।
प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने भ्रमणका क्रममा आइतबार काठमाडौं आएका हुन् । भ्रमणका क्रममा उनले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह ग्रहण गरेका थिए ।
नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा रहँदै आएको छ ।
सेनाध्यक्ष सेठले सोमबार नै प्रधान सेनापति सिग्देलसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । भेटमा नेपाल–भारत सैन्य सम्बन्ध, सहकार्य र आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।




