म डराउँदिनँ, देखेको कुरा लेख्न छाड्दिन, पत्रकार श्रेष्ठ
काठमाडौ/ सर्वोच्च अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ हिरासतबाट रिहा भएका छन्। रिहाइलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै श्रेष्ठले आफ्नो गिरफ्तारीलाई राज्यको प्रतिशोधपूर्ण कदम र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरे।
उनले आफूविरुद्धको कारबाही कुनै व्यक्तिगत प्रतिस्पर्धा वा दुश्मनीको परिणाम नभई पत्रकारिताको धर्म निर्वाह गर्ने क्रममा उत्पन्न भएको न्यायको लडाइँ भएको बताए। सत्ताका कमजोरी र गल्ती उजागर गरेकै कारण आफूले हिरासतको अवस्था भोग्नुपरेको उनको दाबी थियो।
श्रेष्ठले पछिल्लो समय राज्यले विभिन्न क्षेत्रका आवाजलाई नियन्त्रण गर्ने प्रयास गर्दै आएको आरोप लगाए। ट्रेड युनियन, विद्यार्थी संगठन, कर्मचारी, न्यायालय हुँदै अहिले सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्न खोजिएको उनको भनाइ थियो। नयाँ सरकारले कानुनी प्रक्रियाको बाटोभन्दा ‘हुकुमी शैली’ अपनाएर असहमत आवाज दबाउन खोजेको उनले आरोप लगाए।
‘जनआस्थाले लेखेका समाचार गलत भए त्यसको खण्डन गर्ने कानुनी विधि छ। प्रेस काउन्सिल छ, अदालत छ। तर ती प्रक्रियामा नजाई राज्य पात्रहरू खडा गरेर मिडिया सिध्याउनेतर्फ अघि बढेको देखियो,’ श्रेष्ठले भने, ‘मैले लेखेको कुरा के गलत साबित भयो?’
सर्वोच्च अदालतले हस्तक्षेप नगरेको भए आगामी दिनमा विरोधी धारणा राख्ने सञ्चारमाध्यमका क्यामेरा, ल्यापटप र छापाखाना जफत हुने तथा पत्रकारहरू जेल जाने अवस्था सिर्जना हुन सक्ने उनले दाबी गरे। अदालतको आदेशले राज्यको निरंकुश प्रवृत्तिमाथि कानुनी अंकुश लगाएको उनको भनाइ थियो।
श्रेष्ठले आफूविरुद्ध विभिन्न व्यक्तिलाई प्रयोग गरेर मिडियामाथि दबाब सिर्जना गर्न खोजिएको आरोपसमेत लगाए। सामाजिक सञ्जालमा व्यक्तिले आफैँ सार्वजनिक गरेको तस्बिरलाई व्यक्तिगत गोपनीयताको विषय बनाउँदै आफूलाई कारबाहीको घेरामा पारिएको उनको जिकिर थियो।
पाँच दिन हिरासतमा रहँदा आफूलाई अपराधीसरह व्यवहार गरिएको उनले गुनासो गरे। लागूऔषध कारोबारमा संलग्न आरोपमा पक्राउ परेकाहरूसँगै राखिएको र वकिल तथा कानुनी सल्लाहकारसँग भेटघाटसमेत गर्न नदिइएको उनले बताए।
‘मलाई मनोबल गिराउने प्रयास भयो। अबदेखि लेख्दिनँ भनेर कान समात्ने अवस्था बनाउन खोजिएको थियो,’ श्रेष्ठले भने, ‘तर म १६ वर्षको उमेरदेखि, कक्षा ९ पढ्दादेखि नै जेल बसेर आएको मान्छे हुँ। म डराउँदिनँ।’
रिहाइपछि उनले आफ्नो पक्षमा उभिएका सञ्चारकर्मीप्रति आभार व्यक्त गरे। सरकारलाई कानुन हातमा नलिन र मौखिक आदेशका आधारमा राज्य संयन्त्र सञ्चालन नगर्न उनले आग्रह गरे।
आफू जीवित रहेसम्म नहार्ने र देखेको कुरा लेख्न नछाड्ने प्रतिबद्धता व्यक्त गर्दै श्रेष्ठले पत्रकारिताबाट पछि नहट्ने स्पष्ट पारे।




