‘किन आत्तिएको ’ भन्दै श्रीमती सरस्वतीले सम्झाइन् पत्रकार किशोर श्रेष्ठलाई
काठमाडौ/ पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बहस सकिएको छ । न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा सुनुवाइ भएको मुद्दामा दुवै पक्षको बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा जुटेका छन् ।
मुद्दामा सरकारी पक्षबाट चार जना र पत्रकार श्रेष्ठको पक्षबाट १७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।
सुनुवाइका क्रममा श्रेष्ठका कानुन व्यवसायीहरूले व्यक्तिगत गोपनीयता उल्लंघन भएको भन्दै उजुरी दिने महिलाले नै रास्वपाका एक सांसदसँग चुम्बन गरेको तस्बिर आफ्नो फेसबुक खातामा सार्वजनिक गरेको प्रमाण इजलासमा पेस गरेका थिए । आफूले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिर सञ्चारमाध्यमले प्रकाशित गर्दा कसरी गोपनीयताको हनन भयो भन्ने प्रश्न श्रेष्ठ पक्षका कानुन व्यवसायीले उठाएका थिए ।
इजलासले पनि यही विषयमा सरकारी वकिलसँग प्रश्न गरेको थियो । जवाफमा सरकारी पक्षले व्यक्तिले आफ्नै फेसबुकमा तस्बिर राखे पनि सञ्चारमाध्यमले त्यसलाई पुनः प्रकाशित गर्न नमिल्ने तर्क गरेको थियो ।
सुनुवाइका क्रममा पत्रकार श्रेष्ठले पनि इजलाससमक्ष आफ्नो भनाइ राखेका थिए । उनले आफूविरुद्ध पूर्वाग्रह राखेर झूटो मुद्दा लगाइएको दाबी गर्दै हिरासतमा लागुऔषधसम्बन्धी मुद्दाका अभियुक्तहरूसँगै राखेर मानसिक यातना दिइएको गुनासो गरे ।
‘एउटा कलमजीवी पत्रकारलाई ५५ जना लागुऔषधका अभियुक्तहरूसँगै राखिएको छ । पाँच दिनदेखि राति निदाउन सकेको छैन । परिवारका सदस्य र वकिललाई समेत छुट्टै भेट्न दिइएको छैन,’ श्रेष्ठले इजलासमा भनेका थिए ।
बयान दिने क्रममा श्रेष्ठ पटक–पटक भावुक भएका थिए । उनले आफूले विगतमा सेनाले बेपत्ता बनाउँदासमेत नआत्तिएको र पत्रकारिता गर्नेका क्रममा सधैँ जोखिम मोलेर समाचार लेखेको बताए ।
‘मैले सेना बेपत्ता बनाउँदासमेत आत्तिएनँ । सधैँ समाचार लेख्दा जोखिम मोलेँ । तर यसपटक मसँगै बस्ने आफन्तका बच्चाहरूको आइप्याड, कम्प्युटरसमेत बरामद गरियो । उनीहरूको पढ्ने अधिकार खोसिएको छ । त्यसैले म तनावमा छु,’ श्रेष्ठले भने ।
आफ्नो बयानका क्रममा श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले पनि आफूहरूले भोग्दै आएको अवस्थाबारे इजलाससमक्ष धारणा राखिन् । उनले नयाँ सरकार बनेयता घरअगाडि घण्टौँसम्म मोबाइल चलाएर बस्ने मानिस खटाइएको र प्रहरीको भ्यानसमेत घरबाहिर राखेर मानसिक दबाब दिने काम भएको बताइन् ।
‘पत्रकारिताको कुरा किन मेरो घरमा आउँछ ?
मसँग बस्ने आफन्तका बच्चाले के गल्ती गरे ?, मैले के गल्ती गरेँ ?’ भन्दै उनले आफूहरूले न्याय पाउनुपर्ने माग राखिन् । उनले आफ्नो मृतक सासुआमा र आफ्ना बारे अनेक नचाहिने कुरा गर्ने गरिएको, साइवरमा मुद्धा हाल्दासम्म पनि प्रहरीले वास्ता नगरेको बताइन ।
सरस्वतीले आफ्नो भनाइ सकेपछि भावुक देखिएका श्रीमान् किशोर श्रेष्ठलाई धाप मार्दै ‘किन आत्तिएको ? किन डराएको ’ भन्दै सम्झाएकी थिइन् ।
मुद्दाको बहस सकिएपछि अब सर्वोच्च अदालतको संयुक्त इजलासले श्रेष्ठलाई थुनामा राख्नु कानुनसम्मत हो वा होइन भन्ने विषयमा निर्णय सुनाउनेछ ।




