बिरामी मन्त्री लम्साललाई धनगढीबाट काठमाडौं लगियो
धनगढी/ दूरपश्चिम भ्रमणमा रहेका पूर्वाधार विकास मन्त्री सुनील लम्साललाई थप उपचारका लागि धनगढीबाट काठमाडौं लगिएको छ।
मन्त्री लम्साललाई आइतबार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं लगिएको हो। नेपाल सरकारबाट निर्माणाधीन आयोजनाको अनुगमनका क्रममा बैतडी पुगेका बेला उनी अचानक बिरामी परेका थिए।
बैतडीमा स्वास्थ्य अवस्था असहज भएपछि उनलाई आज दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइएको थियो। सुर्खेतमा रहेको नेपाली सेनाको हेलिकप्टर बोलाएर उनलाई बैतडीबाट धनगढी ल्याइएको थियो।
धनगढीमा प्रारम्भिक स्वास्थ्य जाँचपछि थप उपचारका लागि उनलाई काठमाडौं पठाइएको हो। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।




