३१ श्रावण २०८३, आइतबार

‘नालायक’पछि देश ‘लफङ्गा’को हातमा पुग्यो



काठमाडौं / नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भूसालले पछिल्लो राजनीतिक अवस्थाप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै मुलुकको शासन व्यवस्था झन् गम्भीर दिशातर्फ अघि बढेको टिप्पणी गरेका छन्।

काठमाडौंमा आइतबार आयोजित ‘वामपन्थी आन्दोलन अब के गर्ने ?’ विषयक राष्ट्रिय बहसमा बोल्दै भूसालले आफूले फागुन २१ गतेपछि मुलुकको राजनीतिक अवस्थाबारे गरेको आकलन अहिलेका घटनाक्रमले पुष्टि गरिरहेको दाबी गरे।

उनका अनुसार यसअघि देश ‘नालायक’हरूको शासनबाट गुज्रिएको भए अहिले परिस्थिति अझ खराब बन्दै ‘लफङ्गा’हरूको हातमा पुग्ने अवस्था देखिएको छ। फागुन २१ गते राजनीतिक घटनाक्रमबारे धारणा बनाउँदा आफू गलत साबित हुन चाहेको भए पनि पछिल्ला महिनाका घटनाले त्यसको ठीक उल्टो संकेत गरेको उनले बताए।

भूसालले पछिल्लो साढे चार महिनाको राजनीतिक अवस्थाले समाजमा थप क्षति र भविष्यमा गम्भीर राजनीतिक दुर्घटनाको जोखिम बढाएको बताए।

उनले गत प्रतिनिधिसभा निर्वाचनमा कम्युनिस्ट पार्टीहरूले बेहोरेको पराजयप्रति पनि गम्भीर प्रश्न उठाए। निर्वाचनमा आफूहरूको हार असाधारण र अपेक्षाभन्दा बाहिरको भएको भन्दै पराजयको कारणसमेत अहिलेसम्म स्पष्ट रूपमा पहिल्याउन नसकिएको उनको भनाइ थियो।

‘हामी कसरी हार्‍यौँ भन्ने कुरा अहिलेसम्म बुझ्न सकेका छैनौँ,’ भूसालले भने। आफ्नै परिवारका सदस्यले समेत निर्वाचन परिणामबारे प्रश्न नगरिदिए हुन्थ्यो भन्ने अवस्था आएको उल्लेख गर्दै उनले कम्युनिस्ट आन्दोलनले व्यहोरेको पराजयको गहिरो समीक्षा आवश्यक रहेको बताए।

भूसालले वर्तमान सरकार यही शैलीमा थप दुई वर्ष अघि बढे मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने चेतावनीसमेत दिए। उनले कम्युनिस्ट आन्दोलनको विगत, कमजोरी र निर्वाचनमा प्राप्त परिणामको वस्तुनिष्ठ समीक्षा गरेर मात्रै नयाँ राजनीतिक कार्यदिशासहित जनतामाझ जानुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार