श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं / पत्रकार तथा जनआस्था साप्ताहिकका सञ्चालक एवं सम्पादक किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले श्रेष्ठविरुद्ध तीन दिनको म्याद थप गर्न अनुमति दिएको हो ।
श्रेष्ठको थुनामुक्तिको माग गर्दै बहस भएको थियो । उनको पक्षबाट नेपाल बार एसोसिएसनका अध्यक्ष डा. विजय मिश्र, वरिष्ठ अधिवक्ता शम्भू थापा, बारका महासचिव केदार कोइराला, गोविन्द बन्दी, अम्बर राउत, भक्तिराम घिमिरे, गोपालकृष्ण घिमिरे, डा. प्रेमराज सिलवाल, पुष्प पौडेल, चुडामणि पौडेल, सन्तोष भण्डारी, टीका कुँवर, आरसी गौतम, राधिका खतिवडा, अर्जुन खड्का र बद्री भुसालले बहस गरेका थिए ।
श्रेष्ठलाई प्रहरीले बुधबार राति ललितपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको थियो । उनलाई वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
श्रेष्ठ जनआस्था साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक हुन् । प्रहरीले पक्राउ गरेपछि उनीमाथि अनुसन्धान अघि बढाएको हो ।




