एमालेमा पुनर्जागरणको माग, नेतृत्वलाई बुझाइयो ध्यानाकर्षण पत्र
काठमाडौं / नेकपा (एमाले) भित्र नीति, विधि र संगठन सञ्चालनको शैलीमा सुधारको माग गर्दै ‘एमाले रूपान्तरण र पुनर्संरचनाका लागि पुनर्जागरण अभियान’ले पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको छ ।
अभियानका अगुवाहरूले ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुगेर अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको ध्यानाकर्षण पत्र पार्टीमा दर्ता गराएका हुन् । पत्रमा पार्टी नेतृत्वको कार्यशैलीदेखि निर्वाचनमा भएको पराजयको समीक्षा र संगठनको अवस्थासम्म प्रश्न उठाइएको छ ।
निर्वाचन सम्पन्न भएको करिब ६ महिना पुग्न लाग्दासमेत केन्द्रीय कमिटीको बैठक बस्न नसकेको विषयलाई अभियानले गम्भीर रूपमा उठाएको छ । निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको वस्तुनिष्ठ समीक्षा गर्दै संगठनमा नयाँ ऊर्जा भर्नुपर्ने समयमा नेतृत्वले बैठकसमेत टार्दै गएको आरोप पत्रमा लगाइएको छ ।
अभियानले एमालेले जनताको विश्वास गुमाउँदै गएको दाबीसमेत गरेको छ । फागुन २१ गतेको जनादेशबाट बनेको सरकारका नीति र शासन सञ्चालनप्रति जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै राष्ट्रिय हित, सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा समेत चिन्ता बढेको जनाएको छ ।
पार्टीकै निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदन सार्वजनिक नगरेको र त्यसलाई पार्टीको बैठकमा छलफलमा नल्याएकोप्रति पनि अभियानले असन्तुष्टि जनाएको छ । कार्यदलका सुझावलाई बेवास्ता गरिँदा नेता–कार्यकर्तामा अन्योल र निराशा बढेको उसको निष्कर्ष छ ।
अभियानले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन तत्काल सार्वजनिक गरी छलफलमा ल्याउन, केन्द्रीय सचिवालय र केन्द्रीय कमिटीको बैठक तत्काल बोलाउन तथा निर्वाचनमा भएको पराजयको निर्मम समीक्षा गर्न माग गरेको छ ।
त्यसैगरी पार्टी शुद्धीकरण, सुदृढीकरण र पुनर्संरचनाको स्पष्ट खाका बनाउन तथा कमिटी प्रणाली र आन्तरिक लोकतन्त्रलाई प्रभावकारी बनाउँदै व्यक्तिभन्दा नीति र विधिलाई प्राथमिकता दिनुपर्ने माग अभियानको छ ।
आफूहरूको उद्देश्य पार्टी विभाजन नभएको स्पष्ट पार्दै अभियानले एमालेभित्रै विधानसम्मत र लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ ।
केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीमार्फत् पत्र दर्ता गरिएको हो । अभियानका अगुवा गजेन्द्र थपलिया, रोशन बस्नेत, रमेश पौडेल, शर्मिला कार्की, डा. सुरेन्द्र मानन्धर, बुद्धि परियार र नविना लामालगायत नेता–कार्यकर्ता च्यासल पुगेका थिए ।




