२५ श्रावण २०८३, सोमबार

प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता



काठमाडौं/ प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच शिष्टाचार भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको भेटमा नेपाल–भारत सम्बन्धका विविध पक्षबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

भेटका क्रममा दुई देशबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने विषयमा कुराकानी भएको थियो। साथै पारस्परिक हित, विकास साझेदारी र सहकार्यका सम्भावित क्षेत्रबारे समेत विचार–विमर्श भएको जनाइएको छ।

राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल–भारतबीचको आपसी सम्बन्ध र सहकार्यलाई आगामी दिनमा अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए।

जवाफमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीच लामो समयदेखि कायम रहेको ऐतिहासिक सम्बन्धलाई नयाँ आयामसहित अघि बढाउनुपर्नेमा जोड दिएका थिए। उनले दुवै मुलुकको साझा हित र विकासका क्षेत्रमा सहकार्यलाई प्राथमिकता दिँदै आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताएका थिए।

भेटवार्तालाई नेपाल–भारतबीचको उच्चस्तरीय संवाद र सहकार्यलाई निरन्तरता दिने क्रममा भएको महत्वपूर्ण शिष्टाचार भेटका रूपमा हेरिएको छ।

प्रधानमन्त्रीको अर्को भेटवार्ता चिनियाँ राजदूतसँग हुँदैछ । दिउँसो ३ बजेका लागि चिनियाँ राजदूतसँग भेटवार्ताको समय तोकिएको छ ।

यसअघि प्रधानमन्त्री शाहले सबै देशका राजदूतहरुसँग सामुहिक भेटवार्ता भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार