२३ असार २०८३, मंगलबार

निर्वाचन पराजयको जिम्मेवारी अध्यक्षले लिनुपर्छ, नेतृत्व परिवर्तन आवश्यक : सिंह



काठमाडौं/ नेकपा (एमाले) का केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरबिन्द सिंहले पार्टीको निर्वाचन पराजयको मुख्य जिम्मेवारी पार्टी अध्यक्षको नेतृत्व र कार्यशैलीमा रहेको बताएका छन्। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी आज आफ्नो धारणा प्रस्तुत गर्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पराजयको जवाफ दिनुपर्ने र नेतृत्व परिवर्तनबाट मात्रै पुनर्गठनको प्रक्रिया सुरु हुने बताएका हुन्।

सिंहले देशभर जित्न सक्ने उम्मेदवारलाई मात्रै टिकट वितरण गरिएको भन्दै पार्टी अध्यक्षले निर्वाचनअघि बारम्बार दाबी गरेको स्मरण गराउँदै त्यसो भए पार्टी पराजित हुनुको जवाफ पनि अध्यक्षले दिनुपर्ने बताए। उनले निर्वाचन समीक्षाका लागि गठन गरिएको कार्यदलले यस विषयमा स्पष्ट जवाफ खोज्नुपर्ने अपेक्षा व्यक्त गरे।

उनले निर्वाचन अवधिभर पार्टी अध्यक्ष र निकटस्थ नेताहरूका अभिव्यक्तिले पार्टीलाई नोक्सानी पुगेको दाबी गरे। विशेषगरी ‘गुँइठा र छाउरा’ सम्बन्धी अभिव्यक्तिले मधेसमा पार्टीलाई रक्षात्मक अवस्थामा पुर्‍याएको उनको भनाइ छ।

सिंहका अनुसार मधेसका धेरै उम्मेदवारले पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीका प्रस्तावित उम्मेदवारको तस्बिर र पोस्टर प्रयोग गर्दा चुनाव जित्न कठिन हुने निष्कर्ष निकालेका थिए। उनले पुनर्गठन र समीक्षाका लागि बोलाइएको भेलाअघि नै माथिल्लो तहबाट अनुचित दबाब सिर्जना गरी पुनर्गठन रोक्न खोजिएको आरोपसमेत लगाए।

उनले जेन्जी आन्दोलनसँग जोडिएका हत्या र हिंसाका आरोप लागेका व्यक्तिलाई पुनः प्रधानमन्त्रीको उम्मेदवार बनाइनु कति वस्तुनिष्ठ थियो भन्ने प्रश्न उठाए। आम निर्वाचनमा पार्टी अध्यक्षको भूमिका राष्ट्रिय नेतृत्वभन्दा आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित क्षेत्रीय संयोजकजस्तो देखिएको उनको टिप्पणी छ।

सिंहले कांग्रेससँगको गठबन्धन, सरकार निर्माण र दुईदलीय अवधारणालाई अघि सार्नु पनि पार्टीका लागि घातक सावित भएको बताए। जेन्जी आन्दोलनपछि सम्पन्न ११औँ महाधिवेशनबाट पुनः केपी शर्मा ओली लाई नेतृत्वमा ल्याइनु नै एमाले पराजयको प्रमुख कारण बनेको उनको दाबी छ। आम जनतामा ओलीप्रति बढेको असन्तुष्टि पार्टीविरुद्धको मतमा परिणत भएको उनले बताए।

पार्टीभित्र आर्थिक अनियमितता र यौन दुराचारसम्बन्धी आरोपको निष्पक्ष छानबिन नगर्दा एमालेप्रति नकारात्मक धारणा बनेको पनि सिंहले उल्लेख गरे। दोषीलाई कारबाही वा निर्दोषलाई सार्वजनिक रूपमा सफाइ दिनुपर्ने माग बेवास्ता गरिएकाले पार्टीको छवि कमजोर बनेको उनको भनाइ छ।

उनले जेन्जी आन्दोलनका घटनाबारे पार्टी अध्यक्षले जिम्मेवारी स्वीकार नगरी सबै दोष देशी–विदेशी प्रतिक्रियावादी शक्तिलाई लगाउने अभिव्यक्तिले जनतामा थप असन्तुष्टि बढाएको बताए। त्यस्तै, एउटा महानगरपालिकाका मेयरलाई प्रधानमन्त्री तहको प्रतिस्पर्धी बनाइदिने गरी निरन्तर आलोचना र आक्रमण गर्नु पनि राजनीतिक रूपमा गल्ती भएको उनको विश्लेषण छ।

पार्टी सञ्चालनको वर्तमान शैलीप्रति असन्तुष्टि व्यक्त गर्दै सिंहले कमिटीहरू अनावश्यक रूपमा ठूलो र भद्दा बनाइएको, खुला बहस हुन नदिइएको, निर्देशित र नियन्त्रित कमिटी प्रणाली अपनाइएको तथा जनसंगठनलाई नेतृत्वको प्रशंसामा सीमित बनाइएको आरोप लगाए। आधारभूत तहका नेता–कार्यकर्ता र आम जनताको सुझाव बेवास्ता गरी गलत प्रतिवेदनका आधारमा पार्टी सञ्चालन गरिएको उनले बताए।

पार्टी पुनर्गठनका लागि सिंहले पार्टी अध्यक्ष ओलीले कुनै सर्त नराखी नेतृत्वबाट मार्ग प्रशस्त गर्नुपर्ने सुझाव दिए। अध्यक्षबाट स्वेच्छिक रूपमा नेतृत्व हस्तान्तरण हुने सम्भावना तत्काल नदेखिएकाले पुनर्गठन पक्षधर नेता–कार्यकर्ताले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ।

उनले सत्ता सञ्चालनका क्रममा कानुनविपरीत उपचार खर्च शीर्षकमा खर्च गरिएको करिब चार करोड रुपैयाँको जवाफदेही पनि स्पष्ट हुनुपर्ने बताए। नीति, विधि, कार्यशैली, चिन्तन र व्यवहारमा समयमै सुधार गर्न नसके पार्टी अझ गम्भीर संकटमा पर्ने चेतावनी उनले दिएका छन्।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार