२० असार २०८३, शनिबार

डिजिटल स्वास्थ्य प्रणाली विस्तारमा प्रदेश सरकारको जोड




धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारले सूचना तथा सञ्चार प्रविधिको अधिकतम उपयोग गर्दै स्वास्थ्य सेवालाई सहज, गुणस्तरीय र जनमैत्री बनाउने नीति अघि बढाएको छ।

धनगढीमा शनिबार आयोजित ‘द लास्ट माइल हेल्थ समिट’ उद्घाटन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले आधुनिक प्रविधिको प्रयोगमार्फत दुर्गम क्षेत्रका नागरिकसम्म प्रभावकारी स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यका साथ प्रदेश सरकार अघि बढिरहेको बताए। बढ्दो बिरामीको चाप र नागरिकको स्वास्थ्य आवश्यकतालाई सम्बोधन गर्न प्रविधिमा आधारित सेवा विस्तार अपरिहार्य रहेको उनको भनाइ थियो।

स्वास्थ्य क्षेत्रका समस्या समाधानका लागि सरकार सरोकारवालासँग निरन्तर संवाद र सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले सीमित स्रोत–साधनका कारण केही योजना अपेक्षित गतिमा अघि बढ्न नसकेको स्वीकार गरे । यद्यपि, सेवा सुधार र प्रणाली सुदृढीकरणमा सरकार प्रतिबद्ध रहेको उनले स्पष्ट पारे।

उनले ग्रामीण तथा दुर्गम बस्तीका नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य पूर्वाधार विस्तार र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको जानकारी दिए। आफ्नो कार्यकालमा पहिलो पटक सुदूरपश्चिमका पाँच आधारभूत अस्पताललाई प्रादेशिक अस्पतालका रूपमा स्तरोन्नति गर्ने योजना नीति तथा कार्यक्रममा समावेश गरिएको उल्लेख गर्दै उनले दुई अस्पतालले आवश्यक मापदण्ड पूरा गरेर प्रादेशिक अस्पतालको मान्यता प्राप्त गरिसकेको र बाँकी तीन अस्पताललाई पनि सोही स्तरमा पुर्‍याउने तयारी भइरहेको बताए

आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रम तथा बजेटमार्फत कैलालीको टीकापुर र सेती तथा कञ्चनपुरको महाकाली अस्पताललाई १०० शय्याको प्रादेशिक अस्पतालका रूपमा विकास गर्ने योजना रहेको उनले जानकारी दिए । साथै, जिल्ला अस्पतालहरूलाई २५ देखि ५० शय्यासम्म विस्तार गर्ने र प्रादेशिक अस्पतालमा डायलासिस सेवा थप विस्तार गर्ने प्रक्रिया अघि बढाइएको पनि उनले बताए ।

बाजुराका बुढीनन्दा, बडिमालिका, बुढीगंगा र त्रिवेणी नगरपालिकाको सहकार्यमा स्मार्ट हेल्थ ग्लोबलले आयोजना गरेको समिटमा डिजिटल स्वास्थ्य सेवाको सम्भावना, चुनौती र स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयनका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले सुदूरपश्चिममा स्वास्थ्य चुनौती केवल रोग उपचारसँग मात्र सीमित नभई भौगोलिक विकटता, यातायात, समय र स्वास्थ्य सेवाको पहुँचसँग प्रत्यक्ष रूपमा जोडिएको धारणा व्यक्त गरेका थिए। समिटको अध्यक्षता बडिमालिका नगरपालिका, बाजुराका नगरप्रमुख अमर खड्काले गरे ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार